जेनजीहरूको सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा हालसम्म १५ जनाको मृत्यु।
ट्रमा सेन्टरमा मात्र ७ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि।
मृतकहरूमा:
सुलभ राज श्रेष्ठ (२५), बाँके – टाउकोमा गोली।
सिमाय चौलागाईं (१९) – टाउकोमा गोली।
पवन शाही (२५), कालिकोट – पेटमा गोली।
अन्य अस्पतालहरूमा मृत्यु विवरण: सिभिल अस्पताल: ३ जना, एभरेस्ट अस्पताल: ३ जना,त्रिवि शिक्षण अस्पताल: १ जना,
काठमाडौं मेडिकल कलेज (KMC): १ जना, प्रहरीले प्रदर्शनकारीको टाउकोमा लक्षित गरी गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ।
पत्रकारहरू घाइते:
दिपेन्द्र ढुंगाना (नयाँ पत्रिका – फोटो पत्रकार) बानेश्वर क्षेत्रमा मात्र ८७ जना प्रदर्शनकारी घाइते, विभिन्न अस्पतालहरूमा उपचार भइरहेको।
श्याम श्रेष्ठ (कान्तिपुर टिभी)
काठमाडौं, २३ भदौ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनले उग्ररुप लिँदा हालसम्म १५ जनाको ज्यान गएको छ। आइतबार ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो।
त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा हालसम्म ७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा गम्भीर घाइते भएका प्रदर्शनकारीको उपचारकै क्रममा ज्यान गएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
मृत्यु हुनेमा बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीया सिमाय चौलागाईं रहेका छन्, जसको दुवैको टाउकोमा गोली लागेको थियो। यस्तै, कालिकोटका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको बताइएको छ।
सिभिल अस्पतालमा ३ जना, एभरेस्ट अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र काठमाडौं मेडिकल कलेज (केएमसी) मा १ जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रदर्शनमा सहभागीमाथि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीले प्रदर्शनकारीको टाउकोमा ताकेर गोली चलाएको बताइएको छ। प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना पनि घाइते भएका छन्।
हालसम्म बानेश्वर क्षेत्रमा मात्रै ८७ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शन उग्र बनेपछि पूर्वी र पश्चिमी नेपालका केही शहरहरूमा कर्फ्यु आदेश जारी गरिएको छ। सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र भैरहवामा कर्फ्यु आदेश लागू गरिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आइतबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि इटहरीको मुख्य चोक वरपर कर्फ्यु लागु गरिएको हो। जेनजीहरूको प्रदर्शनले देशव्यापी रूप लिँदै गएपछि हिंसात्मक झडप र सुरक्षाकर्मीको हस्तक्षेपले अवस्था जटिल बन्दै गएको छ।
