घर जग्गा कारोबार सबल र सरल प्रक्रियामा लैजानु पर्छः अध्यक्ष लोहनी

घर जग्गा कारोबार सबल र सरल प्रक्रियामा लैजानु पर्छः अध्यक्ष लोहनी

भक्तपुर । अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताएका छन् । अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले जबसम्म घरजग्गा कोरोवारले गति लिन सक्दैन तबसम्म गति लिन नसक्ने जिकिर गरे ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाउनु पर्ने धारणा राखे । अध्यक्ष लोहनीले घरजग्गाको कारोवारमा सरकारी मूल्यांकन र बजारी मूल्यांकनमा अन्तर भएकाले एउटा सर्वस्वीकार्य स्वतन्त्र, स्वच्छ मूल्यांकन प्रणाली अपनाएमा सरकारको राजस्व संकलनमा पनि उल्लेख्य प्रगति हुने तर्क राखे ।

मालपोत तथा भूमिसुधारका निकायहरू सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अपारदर्शी ढंगबाट कार्य सम्पादन गर्ने संस्थाको रूपमा स्थापित भएको बताए । घरजग्गा कारोवारमा मन्दी आएको प्रमख कारणहरू चर्चा गर्दै अध्यक्ष लोहनीले विदेशीहरूले अपार्टमेन्ट किन्न सक्ने व्यवस्था गरिएको र त्यसम्बन्धमा जनमानसमा भ्रम रहेको जिकिर गरे ।

नेपालमा घरजग्गाको विकास गर्न स्कट मार्केट भएजस्तै रियल इस्टेट मार्केट खडा गरेर कारोवारलाई कानुनी दायरामा ल्याएर वैधानिक स्वरूप दिनु जरुरी रहेको बताए । कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव रामसुन्दर बकेले संविधानले प्रत्याभूत गरेको अधिकारभन्दा बाहिर गएर सरकारले असान्दर्भिक नियमावली ल्याएर अवरोध खडा गरेको जिकिर गरे ।

सचिव बकेले संविधान र एनेविपरीत जारी गरेको नियमावलीका कारण घर जग्गासम्बन्धी कारोवार गर्ने १७ हजार कम्पनीहरूले बैंकको किस्ता त के ब्याजसम्म तिर्न नसकेको बताए । पछिल्लो समय सरकारले घरजग्गासम्बन्धी नीतिमा केही खुकुलो गरेको भएपनि वाधा, अड्चन कायमै रहेको बताए । छिटोभन्दाछिटो कित्ताकाट र जग्गा दर्ता फुकुवा गर्नुपर्नेमा उनको जोड थियो ।

 


Thali Mobile Pvt.Ltd.