भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रोगले अदुवा उत्पादनमा ह्रास

रोगले अदुवा उत्पादनमा ह्रास

इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए । “इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ”, उनले भने, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ ।”

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए। “सुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ”, उनले भने। अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ ।

अदुवा खेती गर्दै आएका किसान जगनाथ अधिकारी भन्छन्, “रोप्नुअघि नै बीउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ ।” अन्यत्रबाट बीउ ल्याएर खेती गरे रोगबाट मुक्ती पाउन सकिने अधिकारीको भनाइ छ । मसला र ओषधिजन्य प्रयोगका लागि भारतमा निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने वित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिकरुपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन् ।

उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका व्यापारी जीवन पोखरेल बताउछन् । उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन् । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ ।

प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् । खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् । इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए । गत वर्ष ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए। “उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ”, प्रमुख बर्देवाले भने । किसानले गत वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यस वर्ष तीन हजार दुई सय दश हेक्टरमा मात्र खेती गरेका उनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.