काठमाडौँ, ५ बैशाख । गुण्डागर्दी तथा आपराधिक गतिविधिविरुद्ध प्रहरीले अभियान तीव्र बनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले १ हजार ९७ जना गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको विस्तृत प्रोफाइल तयार पारेको जनाएको छ ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार तयार पारिएको प्रोफाइलमा गुण्डागर्दीमा संलग्न व्यक्तिमात्र नभई विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई समेत समेटिएको छ ।
प्रहरीका अनुसार विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न अवैध धन्दा सञ्चालन गर्ने , पटक–पटक पक्राउ परेका , मुद्दा खेपेका तथा सामाजिक सञ्जालमार्फत समूह विस्तार र प्रभाव देखाउने व्यक्तिहरूको विवरण संकलन गरिएको हो ।
प्रोफाइलमा सम्बन्धित व्यक्तिको फोटो , नाम , ठेगाना , पेसा , क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) , कनेक्शन तथा नेक्सस , पारिवारिक पृष्ठभूमि , ट्राभल हिस्ट्री लगायतका विवरण समावेश गरिएको छ ।
यसरी तयार पारिएको प्रोफाइलले उनीहरूको गतिविधिमा निगरानी राख्न तथा कुनै आपराधिक घटना भएमा तत्काल कानूनी दायरामा ल्याउन सहज हुने प्रहरीले जनाएको छ । गुण्डागर्दीसँगै लागूऔषध तथा चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई पनि प्रोफाइलिङमा समेटिएको छ ।
यसअघि ‘सेफ्टी काठमाडौं’ अभियानअन्तर्गत प्रहरीले एकैदिन १९५ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेको प्रहरीको भनाइ छ । उनीहरूमाथि गुण्डागर्दी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही धरौटीमा छुटेका छन् भने केही अझै हिरासतमा रहेका छन् ।

