मुख्य बुँदा
पछिल्ला पाँच वर्षमा हिमालयमा हिमपात तीव्र रूपमा घट्यो
हिउँको सट्टा पानी पर्न थालेपछि ‘हिउँको खडेरी’ देखियो
खानेपानी, सिँचाइ र जलविद्युत् आयोजनामा प्रत्यक्ष असर
सुख्खापन बढ्दा वन डढेलोको जोखिम बढ्दै
पहिरो, हिमताल फुट्ने र बाढीको खतरा बढ्यो
सन् २०२४–२५ मा हिउँ जम्ने क्रम २४% ले कम
करिब दुई अर्ब मानिसको जलसुरक्षा जोखिममा
काठमाडौँ, २८ पुष । हिउँले सेताम्मे हुनुपर्ने हिमालहरू अहिले नाङ्गा र काला पहाडजस्ता देखिन थालेका छन् । मौसमविद्हरूका अनुसार पछिल्ला पाँच वर्षमा हिमालय क्षेत्रमा हिउँ पर्ने क्रम ह्वात्तै घटेको छ ।
सन् १९८० देखि २०२० को अवधिसँग तुलना गर्दा पछिल्ला वर्षहरूमा औसत हिमपातमा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ । बढ्दो तापक्रमका कारण थोरै परेको हिउँ पनि छिट्टै पग्लिने गरेको छ ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आईपीसीसी) लगायत वैज्ञानिक प्रतिवेदनहरूले तल्लो भेगमा हिउँको सट्टा पानी पर्न थालेको र यस अवस्थालाई ‘हिउँको खडेरी’ (स्नो ड्राउट) को संज्ञा दिएका छन् ।
विश्वव्यापी उष्णताका कारण हिमनदीहरू पहिल्यै तीव्र गतिमा पग्लिरहेका थिए । अब हिउँदे हिमपातमा आएको कमीले संकट झन् गहिरिँदै गएको छ । विज्ञहरूका अनुसार हिउँ र बरफको कमीले हिमालको स्वरूप मात्र होइन, करोडौं मानिसको जनजीवन र पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्नेछ ।
वसन्त ऋतुमा तापक्रम बढ्दा हिउँदमा थुप्रिएको हिउँ पग्लिएर नदीनालामा पानीको बहाव बन्ने गर्छ । तर, हिमपात नहुँदा खानेपानी, सिँचाइ र जलविद्युत् आयोजनामा प्रत्यक्ष असर पर्न थालेको छ । हिउँदमा पानी र हिउँ नपर्दा सुख्खापन बढेको छ, जसले वन डढेलोको जोखिम बढाएको छ ।
हिमाललाई ‘सिमेन्ट’ जस्तै जोडेर राख्ने बरफ र हिउँ पग्लिँदा पहाडहरू अस्थिर बन्न थालेका छन् । यसले पहिरो जाने, हिमताल फुट्ने र लेदोसहितको बाढी आउनेजस्ता विपद्का घटनाहरू बढाएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार डिसेम्बर महिनामा उत्तर भारतका अधिकांश स्थानमा वर्षा र हिमपात शून्यप्रायः रह्यो । नेपालमा पनि यस्तै अवस्था देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलका अनुसार नेपालमा गत अक्टोबरदेखि वर्षा भएको छैन र यो हिउँद सुख्खा रहने सम्भावना छ । पछिल्ला पाँच वर्षदेखि यस्तै प्रवृत्ति देखिँदै आएको उहाँले बताउनुभयो ।
इसिमोडको प्रतिवेदनअनुसार सन् २०२४–२०२५ को हिउँदमा हिउँ जम्ने क्रम (स्नो परसिस्टेन्स) २३ वर्षयताकै न्यून, अर्थात् सामान्यभन्दा करिब २४ प्रतिशतले कम देखिएको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा हिउँको अभावले करिब दुई अर्ब मानिसको जलसुरक्षामा चुनौती थपिएको छ ।
मौसमविद्हरूका अनुसार भूमध्यसागरबाट आउने पश्चिमी वायु (वेस्टर्न डिस्टर्बेन्स) कमजोर हुँदा र यसको मार्ग परिवर्तन हुँदा उत्तर भारत, पाकिस्तान र नेपालमा हिउँदे वर्षा र हिमपात घटेको हो । विगतमा यसले राम्रो वर्षा र हिमपात गराउने गरे पनि अहिले यो प्रणाली कमजोर बन्दै गएको छ ।
हिमालय क्षेत्र अहिले ‘दोहोरो संकट’ मा परेको छ—एकातिर पुराना हिमनदीहरू पग्लिरहेका छन् भने अर्कोतिर नयाँ हिउँ पर्न छाडेको छ । यो अवस्थाले भविष्यमा गम्भीर नतिजा निम्त्याउने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।