शुक्लाफाँटा नगरपालिकाले छ महिनामा रु ७१ लाख ४२ हजार आन्तरिक राजस्व सङ्कलन
मुख्य कार्यालयबाट रु २७ लाख, वडा कार्यालयबाट रु ४३ लाख
सम्पत्ति, मालपोत, घरबहाल, बहाल बिटौरी, सवारीसाधन र व्यवसाय कर सहित विभिन्न दस्तुरबाट राजस्व
चालु आर्थिक वर्षको लक्ष्य रु ३ करोड
राजस्व वृद्धि गर्न कर दर घटाउने र दायरा विस्तार गर्ने नीति लागू
कञ्चनपुर, २८ पुष । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत राजस्व सङ्कलन गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयहरूबाट रु ४३ लाख ६५ हजार ३७४ सङ्कलन भएको छ ।
सङ्कलित राजस्वमा विभिन्न कर र दस्तुर समावेश छन्: सम्पत्ति कर: रु १ लाख ६० हजार ४७४, मालपोत कर: रु १२,४१६, घरबहाल कर: रु ७ लाख ९४ हजार ६८०, बहाल बिटौरी कर: रु १ लाख ८४ हजार ६२०, सवारीसाधन कर: रु ५७,५००, व्यवसाय कर: रु ५९ लाख १२५, कृषि/पशुजन्य व्यावसायिक कर: रु ७५,३००, अन्य कर: रु २३,६२३ ।
सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट रु २ लाख ५५ हजार ८९५, अन्य बिक्री/सेवा शुल्कबाट रु ४६,४००, न्यायिक दस्तुरबाट रु ५००, र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ९४,१०० प्राप्त भएको छ ।
दस्तुरसम्बन्धी राजस्वमा नक्सापास दस्तुर रु ५९,७४२, सिफारिस दस्तुर रु ९,६६०, व्यक्तिगत घटना दर्ता रु १ लाख ४८,७००, नाता प्रमाणित रु ५०,४५०, अन्य दस्तुर रु ६५,४५८ रहेका छन् ।
व्यवसाय दर्ता दस्तुरबाट रु ९५,९७५, विद्युत्सम्बन्धी दस्तुर रु २५,३००, अन्य क्षेत्रको आय रु १ लाख ३६,२७५, न्यायिक दण्ड–जरिवाना/जफत रु १,३९२, प्रशासनिक दण्ड–जरिवाना/जफत रु ४२,१५१, अन्य राजस्व रु ६६,५७७, व्यवसाय करबाट थप रु १९ लाख ४७,४८२ र बेरुजु फछ्र्यौटबाट रु ५६,३२६ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ३ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले रु ३ करोड १६ लाख आन्तरिक राजस्व सङ्कलन गरेको थियो ।
स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख कल्पना पन्तले आन्तरिक आय न्यून रहेकाले राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिइएको बताए । रासस

