हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।
जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । आवतजावतमा समेत समस्या बनाएको छ । नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ ।
जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले जिल्लाबासीमा आग्रह गरेका छन् ।