भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?

भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?

मुख्य बुँदा

भारतले सन् २०२६ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगायो

आन्तरिक बजारमा मूल्य नियन्त्रण र आपूर्ति सुनिश्चित गर्न निर्णय

उखु उत्पादनमा गिरावट र ‘अल निनो’ को असर मुख्य कारण

इथानोल उत्पादनका लागि उखुको प्रयोग बढ्दै

ब्राजिल र थाइल्यान्डलाई व्यापार विस्तारको अवसर

काठमाडौं, ३१ वैशाख । भारत सरकारले आन्तरिक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न तथा आपूर्ति सहज बनाउन चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो प्रतिबन्ध सन् २०२६ सेप्टेम्बर ३० सम्म लागू हुनेछ।

भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको बताइएको छ। यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यातको अनुमति दिइएको थियो। तर आन्तरिक उत्पादनमा आएको गिरावट, विश्वव्यापी कमोडिटी बजारको अस्थिरता तथा महँगीको जोखिमलाई ध्यानमा राख्दै सरकारले नीति परिवर्तन गरेको हो।

विश्वकै दोस्रो ठूलो चिनी उत्पादक देश भारत मा पछिल्लो समय उखु उत्पादनमा उल्लेख्य गिरावट आएको छ। विशेषगरी महाराष्ट्रकर्नाटक जस्ता प्रमुख उखु उत्पादक राज्यहरूमा उत्पादन घटेकाले लगातार दोस्रो वर्ष पनि चिनी उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार ‘अल निनो’ प्रभाव र अनिश्चित मनसुनका कारण आगामी सिजनमा पनि उखु उत्पादन प्रभावित हुन सक्ने चिन्ता छ। त्यस्तै कच्चा तेलको मूल्य वृद्धि र अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा खाद्यान्न महँगी थप बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले निर्यात रोक्ने निर्णय गरेको हो।

यो निर्णय भारतको इथानोल उत्पादन नीतिसँग पनि जोडिएको छ। भारत सरकारले पेट्रोलमा २० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य अघि सारेको छ। त्यसका लागि उखुको ठूलो हिस्सा चिनी उत्पादनभन्दा इथानोल उत्पादनमा प्रयोग हुन थालेको छ। विशेषज्ञहरूले उखु इथानोलतर्फ बढी प्रयोग हुँदा चिनी अभाव हुन सक्ने चेतावनी पहिल्यै दिएका थिए।

सरकारले सबै प्रकारका कच्चा तथा सेतो चिनी निर्यातमा रोक लगाए पनि निर्यात प्रक्रियामा गइसकेका तथा अमेरिका र युरोपेली संघअन्तर्गतको निश्चित कोटामा पर्ने निर्यातलाई भने छुट दिएको छ।

भारतले निर्यातमा रोक लगाएपछि ब्राजिलथाइल्यान्ड जस्ता प्रतिस्पर्धी देशहरूले एसिया तथा अफ्रिकामा आफ्नो व्यापार विस्तार गर्ने अवसर पाउने विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.