भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भेडेटारमा भारतीय पर्यटकको घुँइचो

भेडेटारमा भारतीय पर्यटकको घुँइचो

धनकुटा । भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकै साथ देखिने हिमाल, पहाड र तराईको दृष्य हेर्न औधी मनपर्छ । भेडेटारमा आयोजित ११ औँ खाना महोत्सवका अवसरमा आउनुभएका रायले अर्को वर्षपनि छुट्टी मनाउन यहीँ आउने बताउनुभयो ।

उहाँ मात्र होइन अंग्रेजी नयाँ वर्ष मनाउन भारतको विहारलगायतका स्थानबाट हजारौँको सङ्ख्यामा भारतीय पर्यटक भेडेटार आएका छन् । चुरे क्षेत्रको धनकुटा र सुनसरीको सिमानामा अवस्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार बाह्रै महिना चिसो मौसमले परिचित छ । होटल संघ भेडेटारले हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर खानपान महोत्सव गर्दै आएको छ । यसपटक संघले पुस १५ गतेदेखि १७ गतेसम्मका लागि ११ औँ महोत्सव आयोजना गरिरहेको छ । भारतीय पर्यटकहरु निजी सवारीमा साथीभाइ र परिवारका साथ भेडेटार घुम्न आउने गरेका छन् । साथीहरु सिफारिसमा अन्य चार जना साथीसँग पहिलो पटक भेडेटार आउनुभएका विहारका सन्तोष रजकले आफूलाई भेडेटारले आकर्षित गरेको सुनाउनुभयो ।

यहाँ हुने महोत्सव, प्राकृतिक वातावरण र यहाँको सेवा सत्कारको बयान सुनेर आफू पनि भेडेटार आएको उहाँको भनाइ थियो । त्यस्तै भारतको सुपोल जिल्ला विहारका अमृतकुमार पनि आफ्ना चार साथीसँग तेस्रो पटक भेडेटार आउनुभएको छ । उहाँले पनि यहाँको वातावरण मन परेका कारण आफू पुन: छुट्टी मनाउन आएको जानकारी दिनुभयो । अहिले नयाँ वर्षमा घुम्न आउने भारतीय पर्यटकले भेडेटार आसपासका पर्यटकीय गन्तव्य र होटल भरिभराउ छन् ।

विशेष गरेर भेडेटार बजार आसपासका पर्यटकीय गन्तव्य नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, पाथीभरा मन्दिरलगायत स्थानमा भारतीय पर्यटकको बाक्लो उपस्थित छ । भारतीय पर्यटकको अत्यधिक भीडका कारण यहाँ सञ्चालित करिब दुई सय होटलले बास सेवा दिन कठिन भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताउनुभयो । “राति १० बजेसम्म खटिएर पर्यटकलाई बास मिलायौँ”, राईले भन्नुभयो, “केही भारतीय पर्यटक धरानतिर फर्किन बाध्य भए ।”

हाल भेडेटारबाट नाम्जेको मगरगाउँसम्म जाने सडक कच्च भएकाले समस्या भएको उहाँको भनाइ छ । यो समय तराईमा हुस्सु लागेर घाम नलाग्ने तर भेडेटारमा मौसम खुलेर घाम लाग्ने गर्छ । ‘घाम ताप्न जाउँ’ भन्ने सन्देश दिनका लागि भेडेटारमा आयोजित खाना महोत्सवका कारण अंग्रेजी नयाँ वर्षमा पर्यटकको भीड लागेको राईको अनुभव छ ।

महोत्सवका माध्यमबाट यहाँको प्रचारप्रसार भएकाले भारतीय पर्यटकको सङ्ख्या बढेको होटल संघका निवर्तमान अध्यक्षसमेत रहनुभएका राईले बताउनुभयो । नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको सङ्ख्या यो पटक थप बढेकाले उनीहरुलाई राख्न कठिन भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले उल्लेख गर्नुभयो । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी साना सवारी लिएर आएका भारतीय पर्यटकको सङ्ख्या यो पटक दोब्बर भएको उहाँको भनाइ छ ।

विगत १४ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अध्यक्ष लिम्बूले भन्नुभयो, “भिडभाडले गर्दा हामीले उनीहरुलाई राख्नै भ्याए नौँ । सबैभन्दा बढी बिहारबाट पर्यटक आएका छन् । दरभङ्गा, सिक्किमलगायत स्थानबाट भेडेटार आउनेको सङ्ख्या राम्रो छ ।” भेडेटार घुम्न जाडोको समयमा दैनिक औसत दुई हजार र गर्मीमा सात हजारसम्म पूर्वी तराई र भारतबाट पर्यटक आउने गरेको होटल संघ भेडेटारको तथ्याङ्क छ । रासस

 


Thali Mobile Pvt.Ltd.