भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव

इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव

एजेन्सी । मध्यपूर्वमा इरान र इजरायलबीचको युद्ध झन् चर्किँदै गएको छ । दुवै पक्षबाट क्षेप्यास्त्र आक्रमण, हवाई बमबारी र समुद्री क्षेत्रमा सुरक्षा संकट बढ्दै जाँदा क्षेत्रीय तनाव गम्भीर अवस्थामा पुगेको संकेत देखिएको छ ।

बिहीबार बिहान इरानले इजरायलका प्रमुख सहरहरूलाई लक्षित गर्दै शक्तिशाली ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । जेरुसेलम र आसपासका क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको बताइएको छ भने इजरायलले आफ्ना नागरिकहरूलाई तत्काल सुरक्षित बङ्करमा बस्न निर्देशन दिएको छ । इजरायलको हवाई प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ र ‘एरो’ ले धेरैजसो मिसाइल आकाशमै नष्ट गरेको दाबी गरिएको छ। यद्यपि आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

यसैबीच इजरायली वायुसेनाले इरानको राजधानी तेहरान, धार्मिक सहर कोम तथा इस्फाहानस्थित आणविक केन्द्र वरपरका सैन्य संरचनामा हवाई आक्रमण जारी राखेको छ । तेहरानमा पनि बिहीबार बिहान थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

युद्धको प्रभाव छिमेकी देशहरूमा समेत देखिन थालेको छ। इजरायलले लेबनानको दक्षिण बेरुत क्षेत्रमा हिजबुल्लाह लक्षित हवाई आक्रमण गरेको जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्ग नजिक भएका दुई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । खाडी क्षेत्रमा पनि तनाव बढेको छ। कुवेत नजिक समुद्रमा ठूलो विस्फोट भएपछि एउटा तेल ट्याङ्करमा क्षति पुगेको र तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ ।

इरानसँगको तनाव बढेपछि कतारले पनि सावधानी अपनाएको छ। कतारको आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्न थालेको जनाएको छ । टर्कीले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक मिसाइललाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरिएको जनाएको छ ।

युद्धको असर अन्तर्राष्ट्रिय समुद्री व्यापारमा पनि परेको छ । डेनमार्कको ठूलो शिपिङ कम्पनी मार्स्क र जर्मनीको हपाग–लोयडले खाडी क्षेत्रतर्फका बुकिङ अस्थायी रूपमा स्थगित गरेका छन् । इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य समेत बढ्न थालेको छ ।

युद्धको प्रभाव दक्षिण एसियासम्म पुगेको छ । श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपीडो प्रहार गरी डुबाएको घटनामा समुद्रबाट ८७ जनाको शव फेला परेको श्रीलङ्काली नौसेनाले जनाएको छ । यसैबीच अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम सुरक्षाका कारण अन्तिम समयमा स्थगित गरिएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् ।

इरानले आफ्नो नेताको हत्याको बदला लिन ‘अपरेशन ट्रु प्रमिस–४’ नामक अभियानमार्फत खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा दूतावासहरूलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र बनाएको जनाएको छ । युद्ध चर्किँदै जाँदा विश्व शक्तिहरूबीच कूटनीतिक टकराव पनि बढ्दै गएको छ । चीनले तनाव कम गर्न विशेष दूत पठाउने संकेत दिएको छ भने अमेरिका र इजरायलले युद्धमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।

युद्धकै बीचमा ‘ग्रेबिटी न्यूक्लियर बम’ (गुरुत्वाकर्षण आणविक बम) बारे पनि चर्चा बढेको छ । यो विमानबाट खसालिने अत्यन्त शक्तिशाली आणविक हतियार हो, जसलाई ‘फ्री–फल न्यूक्लियर बम’ पनि भनिन्छ । यी बमहरू मिसाइलजस्तो निर्देशित हुँदैनन्, बरु विमानबाट छोडेपछि गुरुत्वाकर्षणको प्रभावमा लक्ष्यतर्फ खस्छन् । अधिकांश आधुनिक ग्रेबिटी बम थर्मोन्यूक्लियर हुन्छन्, जसमा फिसन र फ्युजन दुवै प्रकारका आणविक प्रतिक्रिया प्रयोग गरिन्छ ।

यस प्रक्रियाबाट अत्यन्त ठूलो ऊर्जा उत्पन्न हुने भएकाले यस्ता हतियार खतरनाक हतियारमध्ये एक मानिन्छन् ।