काठमाण्डौ, १ पुष । ठेक्का सम्झौता गरेर वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएका छन्।
ती ठेक्काको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ र सुनकोशी मरिण डाइभर्सन आयोजनाको १ ठेक्का रहेका छन्।
विवरणअनुसार भेरी–बबई आयोजनाको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का र जनकपुरधाम कार्यालय अन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरका ठेक्का तोडिएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिनुभएको थियो। ्त्यर
सपछि सम्बन्धित कार्यालयहरूले वर्षौंदेखि समस्याग्रस्त रहेका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका हुन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २ सय १५ वटा चालू ठेक्का रहेका छन्। तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त छन्।
समस्याग्रस्त ठेक्कामध्ये हालसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का भने राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको रहेको छ।
आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँग गरिएको ठेक्का सम्झौता तोडिएको हो।
उक्त आयोजनाका लागि १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता गरिएको थियो।

