बजारमा ग्यास अभावको गुनासो बढ्दै
निगमको दाबी: अभाव छैन, आपूर्ति पर्याप्त
उद्योगीको भनाइ: आयात घटेकाले माग धान्न नसकिएको
जाडो र ढुवानी समस्याले आपूर्ति प्रभावित
निर्वाचन लक्षित १० प्रतिशत थप आयात तयारी
काठमाडौँ, १४ माघ । पछिल्ला दिनहरूमा बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो बढ्दै गएको छ। उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर ग्यास बिक्रेताकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाउन थालेका छन्, जसका कारण अभावको आशंका बढेको हो।
ग्यास उद्योगीहरूले आयात घटेकाले माग धान्न नसकिएको बताइरहेका छन् भने सरकारी नियामक निकाय नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गरेको छ। निगमका अनुसार ग्यास आयात नियमित भइरहेको छ र आवश्यकताअनुसार थप परिमाण आयात गर्ने तयारी पनि गरिएको छ।
बजारमा अभावको चर्चा चलिरहँदा नेपाल आयल निगमले आपूर्ति सहज रहेको दाबी गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बजारमा देखिएको अभाव हल्ला मात्र हो। उनका अनुसार सामान्य अवस्थामा दैनिक ७५ बुलेट ग्यास खपत हुने गर्छ भने हाल ८० बुलेटसम्म आयात भइरहेको छ। जाडो मौसममा खपत केही बढ्ने भए पनि त्यसअनुसार आयात पनि बढाइएको उनले बताए।
‘वार्षिक औसतमा मासिक ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ, तर पुस महिनामा मात्रै ४९ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ,’ ठाकुरले भने, ‘यसले देशव्यापी रूपमा ग्यासको अभाव छैन भन्ने पुष्टि गर्छ।’ निगमले नजिकिँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै नियमित कोटाभन्दा १० प्रतिशत थप प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्ने निर्णयसमेत गरिसकेको छ।
प्रवक्ता ठाकुरका अनुसार काठमाडौँ उपत्यकामा धेरै प्रयोग हुने ‘नेपाल ग्यास’जस्ता ठूला ब्रान्डका सिलिन्डर १–२ दिन ढिला हुँदा रोटेसन नमिल्ने र अभावजस्तो देखिने गरेको हो। ‘कुनै एउटा ब्रान्ड ढिला हुँदा त्यसका उपभोक्ताले अभाव महसुस गर्छन्, तर यसलाई राष्ट्रिय अभाव भन्न मिल्दैन,’ उनले भने। उनले उपभोक्तालाई हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास नथुपार्न आग्रह गरेका छन्।
निगमको दाबीविपरीत एलपी ग्यास उद्योगीहरूले भने बजारमा वास्तविक अभाव सुरु भइसकेको बताएका छन्। जाडो मौसममा ग्यासको खपत १०–१५ प्रतिशतले बढे पनि आयात भने घटेको उनीहरूको भनाइ छ। एक उद्योगीका अनुसार माग धान्न दैनिक कम्तीमा १०० बुलेट ग्यास भित्रिनुपर्ने हो, तर अहिले ७०–७५ बुलेट मात्र आइरहेको छ। ‘मेरो मात्रै सातवटा उद्योग छन्, हरेक उद्योगमा १५–२० हजार सिलिन्डर अर्डर पेन्डिङ छ,’ उनले भने।एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि जाडोका कारण माग बढेको तर आयात घटेकाले बजारमा अभाव देखिएको बताए।
घिमिरेका अनुसार ग्यास अभावको मुख्य कारण भारतीय ढुवानीकर्ता (ट्रान्सपोर्टर) हरूले नेपालतर्फ ग्यास बोक्न नमान्नु हो। भारतीय आयल कर्पोरेसनले दिने भाडा नेपाल आयल निगमले दिनेभन्दा बढी भएकाले ट्रान्सपोर्टरहरू नाफा हुने रुट रोज्ने गरेका छन्। यसका साथै नेपालका पहाडी बाटो, बढी मर्मत खर्च, दुर्घटना हुँदा झन्झटिलो प्रक्रिया, तथा भारत र नेपालका फरक–फरक बिदाका कारण भन्सार र लोडिङ हप्तामा ४–५ दिन मात्र सञ्चालन हुनुले पनि आपूर्ति प्रभावित भएको उनको भनाइ छ।बरौनी रिफाइनरीमा विगत २–३ महिनादेखि मर्मत तथा गुणस्तरसम्बन्धी समस्या देखिनु पनि आयात घट्नुको अर्को कारण भएको घिमिरेले बताए।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा २ लाख ७४ हजार ८०५.११ मेट्रिक टन ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो। तर मासिक रूपमा भने आयात घटेको देखिन्छ। पुस महिनामा ४७ हजार ४६०.४३ मेट्रिक टन ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको पुसभन्दा २२२.८१ मेट्रिक टन कम हो।

