भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सर्लाहीमा २३ बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि

सर्लाहीमा २३ बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । सर्लाहीको मलङ्वा नगरपालिकामा २३ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएपछि खोप अभियान तीव्र पारिएको छ। दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३ तथा त्यससँग जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला खोप दिन थालिएको छ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार प्रभावित ६ वडाका करिब आठ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।गत पुस २४ गते मलङ्वा नगरपालिका–३ स्थित मुस्लिम टोलका पाँच वर्षे बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको थियो। ल्याब परीक्षणबाट बालकमा दादुरा सङ्क्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा थप २३ जनामा सङ्क्रमण फेला परेको डा. झाले जानकारी दिनुभयो।

नगर स्वास्थ्य शाखाका अनुसार दादुरा पुष्टि भएका बालबालिका ६ महिनादेखि ११ वर्ष उमेर समूहका छन्। परिवार कल्याण महाशाखा टेकुको निर्देशन तथा राष्ट्रिय खोप समन्वय समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको हो। खोप अभियानसँगै दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकाको खोजी अभियान पनि चलिरहेको छ। यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न घरदैलोमार्फत सूचना दिइँदै आएको छ।

स्वास्थ्यकर्मीको टोलीले विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरेको र हिजोसम्म ३ हजार ५ सय ४५ जना बालबालिकालाई खोप लगाइसकेको नगर स्वास्थ्य शाखा प्रमुख साहले बताउनुभयो। स्वास्थ्यकर्मीका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक रोग हो। एक जना सङ्क्रमित व्यक्तिबाट १२ देखि १८ जनासम्ममा रोग सर्न सक्ने जोखिम हुन्छ। यो रोग श्वासप्रश्वासको माध्यमबाट—हाच्छ्युँ गर्दा, खोक्दा तथा सङ्क्रमित व्यक्तिले नाकमुख छोपेर हात नधुँदा—सजिलै फैलिन सक्छ।

बालबालिकामा बढी देखिने दादुरा जुनसुकै उमेरका व्यक्तिमा पनि सर्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाइ छ। दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनाको उमेरमा दुई पटक खोप लगाउनुपर्ने र खोप छुटेका बालबालिकामा सङ्क्रमणको जोखिम उच्च हुने डा. झाले बताउनुभयो।

 


Thali Mobile Pvt.Ltd.