भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

४२ वर्ष लाग्यो बागलुङको लामीचौरमा खानेपानी पुग्न

४२ वर्ष लाग्यो बागलुङको लामीचौरमा खानेपानी पुग्न

बागलुङ । बागलुङ नगरपालिका(८ सिगाना लामीचौरमा करिब २०० घरपरिवारको बसोबास छ। बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो। ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए।

एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो। सहजै पानी भर्ने पालो आउँदैनथ्यो। २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन।

यसपालि नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ। लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ। नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो। पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो। यही चैत १ गते मेसिनले करिब १७० मिटर जमिन खोदेर पानी निकालेको हो।

यही चैत ९ गतेदेखि नियमितरूपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए। गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ’, अध्यक्ष थापाले भने। नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाखको लागतमा पानी निकालिएको हो। 

‘सिङ्गो गाउँमा पानीको समस्या थियो, २०० घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए’, उनले विगतको समस्या बताए।

स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए। जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनको भनाइ छ। रासस

 

 


Thali Mobile Pvt.Ltd.