हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल मजदुर किसान पार्टीका साँसदलाई भेटेर विश्वासको मत मागेका छन् । आफ्नो पक्षमा बहुमत पुर्याउन मुख्यमन्त्री जम्कट्टेलले मत मागेका हुन । बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालसहित नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भक्तपुरमा भेटेर मत दिन अनुरोध गरेका हुन् ।
नेमकिपासँग मुख्यमन्त्रीले विश्वासको मत मागेको नेता गोसाईंले बताए । विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको भन्दै गोसाईंले भने, ‘उहाँहरू आउनु भएको थियो । सरकारलाई विश्वासको मत दिनुस् भनेर आग्रह गर्नुभयो । मैले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको छु ।’ दुरदर्शी ढंगमा सरकारले काम गर्ने एजेण्डा ल्याए विश्वासको मतबारे सोच्न सकिने नेता गोसाईंको भनाइ छ ।
नेमकिपा योजना र बजेटमा केन्द्रित भएर बार्गेनिङमा नलाग्ने र जनताको पक्षमा कदम उठाउँने गोसाईंको भनाइ छ । सत्ता समीकरण बनेपछि २३ फागुनमा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जम्कट्टेल अल्पमतमा छन् । ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनमा नेकपा एमालेसँग २७, माओवादीसँग २१ र नेकपा (एकीकृत समाजवादी) को ७ गरेर जम्मा ५५ सिट पुग्छ । यो समीकरणमा बहुमतका लागि नेमकिपाको ३ वा हाम्रो नेपाली पार्टीको २ मत निर्णायक छ । बागमतीमा राप्रपाको सभामुखबाहेक १२ मत छ । प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।
