भर्खरै : Sorry, your browser does not support inline SVG.

जेनजी आन्दोलनपछि कवाडखाना बन्याे संसद् भवन

जेनजी आन्दोलनपछि कवाडखाना बन्याे संसद् भवन

मुख्य बुँदा

भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार र काठमाडौँका विभिन्न स्थानमा आगजनी र तोडफोड

आगजनीका सवारीसाधन नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा थुपारिएका

संसद् भवनका भौतिक संरचना, कार्यालय सामग्री र उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त

वीरेन्द्र सम्मेलन केन्द्र अहिले कवाडखानाजस्तो अवस्थामा

भवन तत्काल प्रयोगमा नआउने भएकाले सवारीसाधन राख्ने थलोको रूपमा प्रयोग

काठमाडौं, २४ असाेज । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी तथा तोडफोड भएका सवारीसाधनहरू नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा थुपारिएका छन्।

संसद् भवन परिसर, राष्ट्रिय विधायिका सञ्चालनका लागि प्रयोग हुने स्थान हो तर अहिले आन्दोलनका समयमा आगजनीमा प्रभावित सवारीसाधनहरूको भण्डारण स्थल बनेको छ। संसद् भवन नियमित रूपमा संसद् बैठक चल्दा निकै चहलपहल हुने स्थान हो तर अहिले कवाडखानाजस्तो अवस्थामा देखिएको छ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगलागी हुँदा भवनभित्रका भौतिक संरचना, कक्षहरू, कार्यालय सामग्री र अन्य उपकरणहरू पूर्ण रूपमा जलेर नष्ट भएका थिए। आगलागीको प्रभावले भवन अहिले तत्काल प्रयोगका लागि असक्षम रहेकाे छ ।आन्दोलनको प्रभाव र आगलागीका कारण संसद् भवनमा रहेका विभिन्न कक्षहरू र कार्यालयहरू प्रयोगयोग्य नभएकाले, अहिले भवनको केही भागलाई आगजनीमा क्षतिग्रस्त भएका सवारीसाधनहरू राख्ने थलोको रूपमा उपयोग गरिएको छ ।

संसद् भवनको वरिपरि सुरक्षा र व्यवस्थापनका दृष्टिले पनि सवारीसाधनहरूलाई अलग ठाउँमा थुपार्ने निर्णय गरिएको बताइएको छ। यसरी थुपारिएका सवारीसाधनहरू आन्दोलनका समयमा क्षतिग्रस्त भएका हुन् र  सवारीसाधन नष्ट हुने वा मर्मत हुने अवस्थाबारे अझै निर्णय हुन बाँकी रहेको छ।

विशेषज्ञहरूले जेनजी आन्दोलनपछि सिंहदरबार र आसपासका क्षेत्रका भौतिक संरचनामा क्षति, प्रशासनिक कार्यालयहरूमा आगजनी र तोडफोडलाई नेपालको सरकारी संरचना र प्रशासनिक कार्यसम्पादनमा ठूलो चुनौतीका रूपमा हेरिरहेका छन्।

संसद् भवन परिसरमा अहिले राखिएका सवारीसाधनहरूको सुरक्षा, व्यवस्थापन र सम्भावित मर्मत कार्यको विषयमा संसद् सचिवालयले आगामी दिनमा निर्णय गर्ने बताएको छ। 

 


Thali Mobile Pvt.Ltd.