फिलिपिन्सको मिन्डानाओमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्स, इन्डोनेसिया र पलाउका तटमा सुनामी चेतावनी
सुनामीका छालाहरू ३ मिटरसम्म अग्ला हुन सक्ने सम्भावना
तटीय बासिन्दालाई तत्काल उच्च स्थानमा जान आग्रह
अघिल्ला हप्तामा पनि ७.० म्याग्निच्युडको भूकम्प र तीव्र आँधी
दक्षिणपूर्व एशियामा प्राकृतिक प्रकोपहरूको शृङ्खला जारी
एजेन्सी, २४ असाेज । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। भूकम्पको केन्द्रबिन्दुबाट करिब ३०० किलोमिटर टाढासम्म रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रहरूमा पनि सुनामीको चेतावनी दिइएको इन्डोनेसियाको भौगर्भिक एजेन्सीले जनाएको छ।
प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा सुनामीका छालहरू सामान्य ज्वारभाटाभन्दा ३ मिटर (१० फिट) माथि पुग्न सक्ने सम्भावना छ। इन्डोनेसिया र पलाउका केही तटहरूमा पनि छालाहरू सामान्यभन्दा करिब एक मिटर माथि पुग्न सक्ने चेतावनी दिइएको छ।
फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालाहरू स्थानीय समय अनुसार बिहान ११:४३ अघि आइपुग्न सक्ने र ती घण्टौँसम्म रहन सक्ने बताएका छन्।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्था (PHIVOLCS) ले प्रभावित तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थान वा भित्री भूभागतर्फ जान आग्रह गरेको छ। संस्थाले डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गाहरू सुरक्षित गर्न र किनाराबाट टाढा सार्न सल्लाह दिएको छ। समुद्रमा रहेका डुङ्गाहरूलाई अर्को सूचना नआएसम्म गहिरो पानीमै रहन निर्देशन गरिएको छ।
दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिब का अनुसार भूकम्पका बेला मानिसहरूमा भागदौड मच्चिएको र केही भवनहरूमा क्षति पुगेको छ। उनले यो भूकम्पलाई ‘धेरै शक्तिशाली’ रहेको बताएका छन्। यो भूकम्पले फिलिपिन्समा हालै देखिएको प्राकृतिक प्रकोपहरूको शृङ्खलालाई थप गम्भीर बनाएको छ।
गत हप्तामात्र सेबु प्रान्तको बोओग तटीय सहरमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए। फिलिपिन्स टाइफून (सामुद्रिक आँधी) को उच्च जोखिममा पनि पर्छ। हालै आएको तीव्र आँधी ‘बुआलोइ’ ले देशको मध्य भागका साना टापुहरूमा कम्तीमा ११ जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएका थिए।
यसै वर्ष सेप्टेम्बरमा आएको सुपर टाइफून ‘रागसा’ ले उत्तरी कागयान प्रान्तमा ठूलो क्षति पुर्याएको थियो, जबकि सन् २०१२ मा आएको टाइफून ‘बोफ’ का कारण सोही क्षेत्रका सयौँ मानिसले ज्यान गुमाएका थिए।
