भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

मुख्य बुँदा 

  • जङ्गली जनावरको आतंकले बैतडीमा मकै बाली तहसनहस

  • किसान खेतबारीमै टहरा बनाएर रातदिन पहरा गर्न बाध्य

  • मकै जोन क्षेत्रका किसानलाई बँदेल र भालुको त्रास

  • उत्पादनमा गिरावट र खेती छाड्ने प्रवृत्ति बढ्दो

  • १२,१०० हेक्टरमा मकै खेती, संकटमा कृषक जीवन

बैतडी, १९ साउन । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ ।

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकै बालीमा क्षति पुर्‍याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकै बाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकै बाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ ।

उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकै बाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकै बाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकै बाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरूमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए ।

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ । ती स्थानीय तहमा किसानलाई मकै बाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् ।

हरेक वर्ष मकै बालीमा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए । उनले भने, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकै बाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकै बाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकै बाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकै खेती गरिन्छ । जङ्गली जनावरकै कारण मकै खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.