कर्णाली प्रदेशका अस्पतालमा विशेषज्ञ चिकित्सक पाउन मुस्किल
सामाजिक विकास समितिमा मन्त्री घनश्याम भण्डारीले समस्या व्यक्त
छात्रवृत्ति र स्थानीय तह परिचालन प्रयास गरिए पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहमा चिकित्सक अभाव
बजेट स्रोत घट्दा स्वास्थ्य क्षेत्र प्राथमिकतामा नरहेको गुनासो
प्रदेश अस्पतालमा १५० शय्या स्वीकृत भए पनि ३०० शय्या बराबर सुविधा उपलब्ध, जनशक्तिको कमी
३७ आवश्यक जनशक्तिबाट केवल १९ जनाले सेवा प्रवाह
विद्युत् आपूर्ति अभावले थप चुनौती सिर्जना
कर्णाली, १ मंसिर । कर्णाली प्रदेशका अस्पतालमा विशेषज्ञ चिकित्सक पाउनै कठिन भएको सरकारले जनाएको छ। प्रदेश सभाको सामाजिक विकास समितिमा भएको छलफलका क्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालमा विशेषज्ञ चिकित्सक उपलब्ध गराउन मुस्किल भइरहेको बताए।
मन्त्री भण्डारीका अनुसार कर्णालीको भौगोलिक स्थिति र वास्तविकतालाई ध्यानमा राख्दा उच्च तहका चिकित्सक कर्णाली आउन इच्छुक नहुने अवस्था छ। उनले भने, “गाउँगाउँमै चिकित्सक पठाउने छात्रवृत्ति र करारकालाई स्थानीय तहसम्म परिचालन गरिए पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहमा चिकित्सक पाउन जटिल छ।” स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा नरहेको र कोभिड–१९ पछिका दिनमा बजेट स्रोत घटेको उनको भनाइ छ।
प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापन कमजोरी रहेको स्वीकार गरे। हाल १५० शय्या स्वीकृत भए पनि ३०० शय्या बराबरको सुविधा सञ्चालन भइरहेको र विशेषज्ञ सेवा ९१ जनाले प्रदान गरे तापनि बजेट पर्याप्त नभएको उनले बताए।
प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाका अनुसार आवश्यक ३७ जनाको जनशक्तिमा हाल केवल १९ जनाले सेवा प्रवाह गरिरहेका छन्। साथै, चार–पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा एक हजार केभिए मात्र उपलब्ध भएकाले सेवा सञ्चालनमा कठिनाइ परेको उनले जानकारी दिए।
समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्ति, कार्यदक्षता, सेवा प्रवाह ढिलासुस्ती र सुधारका विषयमा छलफल भएको जानकारी दिए।
