दुई दशकपछि काठमाडौँ–ल्हासा सिधा बस पुनः सञ्चालनको तयारी

दुई दशकपछि काठमाडौँ–ल्हासा सिधा बस पुनः सञ्चालनको तयारी

मुख्य बुँदा

काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको तयारी

नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा सहमति

सन् २०६२ मा सुरु भई १० महिनामै बन्द भएको सेवा

पर्यटन, व्यापार र कनेक्टिभिटी विस्तारको अपेक्षा

यातायात व्यवस्था विभाग रुट परमिट दिन तयार

भिसा, सुरक्षा र स्वास्थ्य जोखिमले सेवा बन्द भएको इतिहास

काठमाडौँ, माघ १६ । नेपाल र चीनबिचको पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालन हुने तयारीमा पुगेको छ। हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा यो सेवा पुनः सञ्चालन गर्ने विषयमा दुवै देशबिच सहमति जुटेको हो।

माघ ६ र ७ गते (जनवरी २० र २१, २०२६) चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा सम्पन्न नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कोअपरेसन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने सहमति भएको हो।

बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष महामहिम चाओ पेङले गरेका थिए।

नेपाल र चीनबिच यातायात सम्झौता भएको ११ वर्षपछि २०६२ वैशाख १६ गते काठमाडौँ–ल्हासा बस सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिए पनि विभिन्न कारणले यो सेवा १० महिनामै बन्द हुन पुगेको थियो। त्यसपछि २०६६ र २०७३ सालमा पनि सेवा पुनः सञ्चालनका प्रयास भए, तर ती प्रयास कार्यान्वयनमा आउन सकेनन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिले पुनः बस सेवा सञ्चालनका लागि सकारात्मक तयारी भइरहेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख इन्जिनियर सुशीलबाबु ढकालले काठमाडौँ–ल्हासा बस सेवा सञ्चालन गर्न मन्त्रालय पूर्ण रूपमा सकारात्मक रहेको बताए।

उनले भने, “यो बस सेवा केवल यातायातको साधन मात्र होइन, नेपाल र चीनबिचको कनेक्टिभिटी, पर्यटन र व्यापार विस्तारका लागि दिगो र फलदायी माध्यम बन्न सक्छ। सुरक्षा लगायत सबै मापदण्ड पूरा गरेर सहज आवागमन सुनिश्चित गर्नुपर्छ।”

यातायात व्यवस्था विभाग पनि आधिकारिक निर्देशनको पर्खाइमा रहेको जनाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलले सरकारबाट निर्देशन प्राप्त भएलगत्तै सेवा प्रदायकलाई रुट परमिट दिन तयार रहेको जानकारी दिए। “पहिला कसले सेवा सञ्चालन गर्ने हो भन्ने स्पष्ट हुनुपर्छ। आधिकारिक प्रस्ताव आएपछि हामी रुट परमिट जारी गर्न तयार छौँ,” उनले भने।

विभागका निर्देशक श्रीकान्त यादवका अनुसार छ महिनाअघि नै केही निजी सेवा प्रदायकहरूले बस सञ्चालनका लागि प्रस्ताव पेस गरिसकेका छन्। वाणिज्य सचिवस्तरीय बैठकमा सहमति भएपछि अब छिट्टै प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

यसअघि २०६६ साल कात्तिकमा नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै बस सञ्चालनको तयारी गरिएको थियो। त्यस्तै २०७३ सालमा पनि नयाँ मोडालिटीसहित सेवा सुरु गर्ने प्रयास भए पनि उपयुक्त संरचना तय नहुँदा ती योजना कार्यान्वयन हुन सकेनन्।

यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलका अनुसार काठमाडौँ–ल्हासा बस सेवा बन्द हुनुमा प्राविधिक, भू–राजनीतिक, नीतिगत र व्यावहारिक कारणहरू जिम्मेवार थिए। चीनसँगको यात्रामा पासपोर्ट र भिसा अनिवार्य हुने, भिसा प्रक्रिया समयमै पूरा नहुने तथा यात्रु अनिश्चित हुने समस्या प्रमुख कारण बनेको थियो।

सन् २००८ मा चीनमा बेइजिङ ओलम्पिक आयोजना हुँदा सुरक्षा संवेदनशीलताका कारण बस सेवामा कडाइ गरिएको थियो। त्यसपछि तिब्बत क्षेत्रको सुरक्षालाई लिएर सेवा पुनः सञ्चालनमा समेत अवरोध आएको थियो।

भौगोलिक कठिनाइका कारण यात्रुमा ‘लेक लाग्ने’ (Altitude Sickness) समस्या देखिनु, उच्च हिमाली क्षेत्रको चिसो मौसम तथा सेवा मौसमी (seasonal) बन्नु पनि सेवा बन्द हुनुका प्रमुख कारण रहेको पोखरेलले बताए। जाडोयाममा यात्रु नपाउँदा सेवा प्रदायकलाई आर्थिक भार परेपछि बस सेवा निरन्तरता दिन नसकिएको थियो।

Mohotsav


Thali Mobile Pvt.Ltd.