भक्तपुर, माघ १६ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको मिति २०८२ साल माघ १४ गतेको निर्णयअनुसार श्री नेपाल–कोरिया मैत्री हस्पिटललाई ५० सैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ।
अनुमति प्रदान गरिएको अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको उपस्थितिमा हस्पिटलको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षणसमेत गरिएको छ। निरीक्षणका क्रममा मन्त्री थापाले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
स्वास्थ्य मन्त्री थापाले नेपाल–कोरिया मैत्री हस्पिटललाई जनरल अस्पतालको अनुमति प्रदान हुनु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले यस निर्णयले भक्तपुर जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै उपचारको गुणस्तरमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
नयाँ भवन सञ्चालनमा आएपछि आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू थप प्रभावकारी हुने मन्त्री थापाको भनाइ छ। यसबाट भक्तपुरवासी मात्र नभई आसपासका जिल्लाका नागरिकले समेत छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पूरा गरेपछि सेवा विस्तारको अनुमति दिने नीति लिएको उल्लेख गर्दै मन्त्री थापाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सुधार र लगानीलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो।
स्वास्थ्य मन्त्रालयको निर्णयसँगै नेपाल–कोरिया मैत्री हस्पिटलले तोकिएका कानुनी तथा प्राविधिक मापदण्ड पूरा गर्दै ५० सैयाको जनरल अस्पताल सञ्चालनको तयारी तीव्र पारेको जनाएको छ।
