भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर। गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा ९मछेली० नदीको बगरमा पुगिसकेका हुन्छन् । हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तार जालीमा छान्ने कार्य गर्दछन् ।

बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउँछन् । गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ । दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन् । एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ ।

उनी भन्छन्, “नदी नै एकमात्र बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ, पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन मुस्किल हुन्थ्यो, बालुवा चाल्न थालेपछि भारत जान छाडे, अहिले थोरै कमाउँछु, तर परिवारसँगको सुखदुःखमा साथमा छु ।” चारपाँच दिनमा एक ट्रली बालुवा त्यही परिणामा गिट्टी सङ्कलन हुँदा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुने गरेको उनी बताउँछन् । महिनामा रु १२ देखि रु १५ हजारसम्मको कमाइ हुने गरेको छ ।

गिरी दम्पतीसँग गाउँमा घरबाससँगै थोरै कमाइखाने जग्गा पनि छ । त्यो जग्गामा लगाएको अन्नले छ महिना पनि धान्दैन । बालुवा, गिट्टी बेचेर आएको कमाइले घरको नुन तेल, लत्ताकपडा र अन्नको जोहो मिलाउँछन् । भीमजस्तै खल्लागोठ गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्दै आएका छन् । बिहान बालुवा चाल्दै सुरु हुने दैनिकी बेलुका थकाइसँगै बन्द हुने गरेको उनी बताउँछन् ।

आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्दै आएको छ । “बालबालिका छाडेर घरका अरू सबै जना बालुवा, गिट्टी चाल्ने कार्य गर्छौँ, महिनामा रु २०–२५ हजार जति कमाइ हुन्छ, त्यही रकमबाट घरायसी खर्च धान्ने गर्दर्छौँ”, उनले भने ।

नदीमा ठेक्का छिटो खुलेपछि धेरै दिनसम्म बालुवा, गिट्टी चाल्न पाइने गरेको उल्लेख गर्दै उनले ढिलो गरी ठेक्का खुले बालुवा, गिट्टी चाल्ने कार्य नहुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए। नदीमा असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्दै आएका छन् । असारदेखि भदौसम्मको बर्खायाममा नदीजन्य पदार्थ सङ्कलन उत्खनन गर्न नपाइने भएकाले काम खोज्दै हिँड्नुपर्ने अवस्था रहेको न्यौटी नाथले बताए । खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ ।

गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गर्छन् । गाउँका बासिन्दासँग थोरै मात्र जग्गा छ । त्यो पनि उब्जाउ नहुँदा बाध्यताले नदीमा बालुवा चाल्नुपरेको उनी बताउँछन् । जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याएर आउने धनबहादुर विक बताउँछन् ।

“असारदेखि नै पानी दर्किन सुरु भएपछि नदीको बाढी गाउँभित्र पस्ने भएकाले तीन महिना अवधि त्रासमा बाँच्नुपर्ने हुन्छ”, उनले भने, “नदीजन्य पदार्थ उत्खननको प्रत्येक वर्ष ठेक्का लाग्ने भएकाले त्यसको केही हिस्सा नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउनमा खर्च गर्नुपर्ने हो, त्यसका लागि आवाज उठाउँदै आए पनि सुनवाइ हुँदैन ।”

उनका अनुसार सो गाउँका ४५ घर बाढीको जोखिममा छन् । खल्लागोठका स्थानीय बासिन्दा नदी र बस्तीलाई असर नपर्ने गरी बालुवा, गिट्टी उत्खनन गर्दै आएको बताउँछन् । स्थानीय भन्छन्, “नदीलाई शत्रु होइन, सहयात्री ठान्छौँ, यसले जीवन जिउने आधार दिएको छ ।”

पहिला पहाडबाट तराई झर्नेहरूले खल्ला ९पानी जम्ने ठाउँ०मा गोठ राख्ने भएकाले त्यस ठाउँलाई पछि खल्लागोठ भन्ने गरिएको गाउँका बासिन्दा बताउँछन् । गाउँका केही बासिन्दाले बालुवा चाल्ने कार्यसँगै नजिकै वन क्षेत्र भएकाले बाख्रा पालनको काम गरी अतिरिक्त आम्दानी गर्दै आएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.