भर्खरै : Sorry, your browser does not support inline SVG.
सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु | सर्वोच्चले खारेज गर्‍यो औद्योगिक क्षेत्रको भाडा विवादसम्बन्धी पुनरावलोकन |

न्यायप्रति प्रतिबद्धता र कानुनी शिक्षाको आवश्यकता : ख्वप कलेज अफ लको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यायप्रति प्रतिबद्धता र कानुनी शिक्षाको आवश्यकता : ख्वप कलेज अफ लको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेज अफ ल (KHwopa College of Law) द्वारा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। शैक्षिक सत्र २०८१/८२ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा आयोजित उक्त कार्यक्रममा कानुन, न्याय र सामाजिक उत्तरदायित्वका विषयमा सन्देशमूलक मन्तव्यहरू प्रस्तुत गरिएकाे थियाे ।

अध्यक्ष बिजुक्छेँले आफ्नो सम्बोधनमा कानुनलाई समाज, राष्ट्र र विश्वको शान्ति, समानता र सुव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै कानुनको पालना प्रत्येक नागरिकको दायित्व भएको धारणा व्यक्त गर्नुभयो। “कानुनको अज्ञानता क्षम्य हुँदैन, उल्लंघन दण्डनीय हुन्छ,” भन्दै उहाँले न्यायालय सधैं निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन व्यवसायमा रहेका व्यक्तिहरूले झुटो प्रस्तुत गर्दै मुद्दा जित्ने प्रपञ्च कहिल्यै नअपनाउन चेतावनीसमेत दिनुभयो।

कानुनी शिक्षा विद्यालय तहदेखि नै समावेश गर्न सके विद्यार्थीहरूको सोच, दृष्टिकोण र चेतनामा सकारात्मक रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो। साथै, अपराध नियत होइन, परिस्थितिले पनि उत्पन्न हुने सक्ने हुँदा कानुनी दृष्टिकोणमा संवेदनशीलता आवश्यक भएको तर्क उहाँले प्रस्तुत गर्नुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप कलेज अफ लको स्थापना २०७९ सालमा विद्यार्थीको चाहना र राष्ट्रिय आवश्यकता अनुसार गरिएको बताउँदै सिट संख्या सीमित रहे पनि शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले कानुनका विद्यार्थीहरू व्यवहारिक र सामाजिक दृष्टिले पनि उदाहरणीय बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, “पुँजीवादी गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद हो,” भन्ने धारणा राख्दै वैज्ञानिक समाजवादमै कामदार वर्गको वास्तविक प्रतिनिधित्व हुने दाबी गर्नुभयो।

कार्यक्रममा उपप्रमुख तथा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई शैक्षिक नगरीको रूपमा स्थापित गर्न नगरपालिकाले अग्रसरता लिएको र ख्वप विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गर्नुभयो।

कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले कानुन व्यवसाय झनझन चुनौतीपूर्ण बन्दै गइरहेको उल्लेख गर्दै न्यायालय प्रणालीमा भागबण्डाको राजनीति हावी भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले न्यायाधीश नियुक्तिमा निष्पक्षता र योग्यता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ ज्ञान र सीप प्राप्तिमा विद्यार्थी सधैं अभिप्रेरित हुनुपर्ने बताउनुभयाे । ख्वप कलेज अफ लकी प्राचार्य अनिता जधारीले कलेजको उद्देश्य न्याय र समानताको पक्षमा लड्ने कानुनी चेतनायुक्त विद्यार्थी उत्पादन गर्नु भएको बताउँदै सत्य र न्यायको पक्षमा उभिने दृढ विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरू दिलबहादुर भण्डारी र जिविता कुँवरले आफ्नो अनुभव बाँडेका थिए भने विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतीसमेत प्रस्तुत गरिएकाे थियाे । 

 


Thali Mobile Pvt.Ltd.