यौन तथा प्रजनन स्वास्थ्य सचेतनाका लागि ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालनमा ल्याउँदै वागमती प्रदेश

यौन तथा प्रजनन स्वास्थ्य सचेतनाका लागि ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालनमा ल्याउँदै वागमती प्रदेश

मुख्य बुँदा 

वागमती प्रदेशले ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालनमा ल्याउँदै

यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षा र सचेतना प्राथमिक लक्ष्य

विशेषज्ञ सामग्री, पोडकास्ट, डिजिटल बोर्डमार्फत् सन्देश प्रसार

एक वर्षमै एक लाखभन्दा बढी किशोर–किशोरी लाभान्वित हुने अपेक्षा

२५ लाख बजेट, छुट्टै डिजिटल संरचना र सूचना कक्ष निर्माण

हेटौडा वा काठमाडौंका पार्कमध्ये एक स्थानमा पहिलो चरण सञ्चालन

भक्तपुर, २१ मङ्सिर । किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि ‘किशोर किशोरी डिजिटल पार्क (Adolescent Digital Park)’ नमूना कार्यक्रमका रूपमा सञ्चालनमा ल्याउने भएको छ।

किशोर–किशोरीमा बढ्दै गएको असुरक्षित यौन व्यवहार, अनियोजित गर्भाधारण, असुरक्षित गर्भपतन तथा यौन रोगको जोखिमलाई मध्यनजर गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएकाे वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयाे । यसलाई स्थानीय तहसँगको समन्वय र साझेदारीमा तत्कालै कार्यान्वयनमा ल्याइने मन्त्री थापाकाे भनाइ छ । 

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो कार्यक्रम नेपालमै पहिलोपटक सुरु हुन लागेको बताउँदै किशोर–किशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यका पक्षमा आवश्यक परामर्श, जानकारी र शिक्षामार्फत् ठोस प्रभाव पार्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममार्फत् यौन शिक्षा, परिवार नियोजनका अस्थायी साधन, अनिच्छित गर्भाधारण रोकथाम, एचआईभी तथा अन्य यौन रोगबाट बच्ने उपाय, लैङ्गिक हिंसा, व्यक्तिगत सुरक्षा, व्यवसायिक अधिकार जस्ता विषयमा सन्देश प्रवाह गरिने सचिव गौतमले जानकारी दिनुभयाे ।

कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै डिजिटल पार्कमा एडल्सेन्ट हेल्थ रूम, डिजिटल जानकारी कक्ष, हल, बहुउद्देश्यीय कक्ष, डिजिटल डिस्प्ले वाल, पोस्टर ग्यालरी लगायत संरचना निर्माण गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाले बताउनुभयाे ।

एनिमेटेड भिडियो, इन्फोग्राफिक्स, पोस्टर, डकुमेन्ट्री, सचेतनामूलक छोटा भिडियो निर्माण गरी प्रशारण गरिनेछ। डिजिटल पार्कमा स्मार्ट टिभी, स्क्रिन, UPS, इन्टरनेट सेवा, प्रतिक्रिया संकलनका लागि QR कोड सिस्टम जस्ता प्रविधि प्रयोग गरिने जनाइएकाे छ।

 


Thali Mobile Pvt.Ltd.