भक्तपुर । रोजगारीको शिलशीलामा दक्षिण कोरिया जाने र सिप सिकेर नेपाल फर्किएका नेपालीहरुलाई व्यवसाय संचालन गर्न सहज हुने गरि के हामी परियोजनाले ुगाइड बुकु सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच सम्बन्धित चार पुस्तक सार्वजनिक गरिएको हो । नेपाली युवाहरूलाई कोरिया पुगेपछि राम्रोसँग काम गर्न र स्वदेश फर्किएपछि पुनःएकीकरणका लागि सहज हुने वातावरण मिलाउन यी पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगेर फर्केका युवाहरूलाई पुनःएकीकरणका लागि सहजीकरण गर्ने उद्देश्यले भक्तपुरमा आयोजित कार्यक्रममा विभिन्न विद्याका चार वटा पुस्तक सार्वजनिक गरिएको परियोजनाले जनाएको छ ।
दक्षिण कोरिया विदेश मन्त्रालय अन्तर्गत सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ्ग मुहन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले वित्तीय गाइड बुक, आफ्नो भविष्यको परिकल्पना, वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श र कोरिया रिटर्नीहरूका लागि पुनःएकीकरण सम्बन्धी जानकारीमूलक पुस्तिका सार्वजनिक गरेका हुन । युवा युवतीलाई गाइडेड गर्न पुस्तक सफल हुने देशीय निर्देशक कोङ मुहनले बताउनु भयो ।
पुस्तकले कोरियाबाट फर्केका युवा युवतीलाई पुनःएकीकरण गर्न मात्रै होइन, वित्तीय साक्षरतामा पनि सघाउने मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले विश्वास व्यक्त गर्नुभयो । कोरियामा नेपाली युवा युवतीहरूले आफुले सिकेको सीपलाई देशभित्रै पुनःएकीकरण गरि सदुपयोग गर्न नेपाल सरकारसँग रिटर्नीहरुले अनुरोधसमेत गरेका छन् ।
नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा नेपाल फिर्ती सीपको सदुपयोग गर्न ‘के हामी’ परियोजना अघि सारिएको र यसले उद्यमशीलता विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी दिइ पुनःएकीकरण गर्ने छ । यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म चल्ने कोइकाका अधिकारी रोशनी बताइन् । सिप र कमाएको पुँजीको सही प्रयोग गर्न फर्किएका युवा युवतीले पुनः एकीकरण कार्यक्रमबाट धेरै फाइदा लिन सक्ने उनकोे भनाइ छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…;
परियोजनाले प्रदान गर्ने शिक्षा र जानकारीले कोरियाबाट फर्किएकालाई सुरक्षित रूपमा बसोबास गर्न र भविष्यका लागि सपना साकार गर्न सहयोग पुग्ने विश्वास लिएको छ । २०२४ अप्रिल ३० देखि सन् २०२८ सम्म रहने परियोजनामा आठ सयबढीले तालिम लिन पाउने छन् । उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षा, अनलाइन मेन्टरिङ कार्यक्रम, सम्भावित उद्यमीका लागि कोष स्थापनालगायतका काम हुने र यसबाट नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पु¥याउनुका साथै रोजगारी वृद्धि गर्ने परियोजनाको लक्ष्य छ ।
कार्यक्रममा रिटर्नीहरुले आआफ्नो अनुभव आदानप्रदान गर्नुका साथै भविष्यका बारेमा धारणा राखेका थिए । कोरियाबाट फर्केका महिलाहरूले सस्थागत व्यवसायमा जोड दिनु पर्ने धारणा राख्दै सिकेको सिपलाई देशभित्रै प्रयोग गरेर रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए । अबको सपना मातृभूमि भन्ने नाराका साथ खुसी प्रवास, खुसी जीवन उद्देश्य राखिएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् ।
कोरियाबाट फर्केकालाई परियोजनाले पुँजी पनि उपलब्ध गराउने उनको भनाइ छ । यसले गर्दा देशमा उद्यमशीलता विकास भइ रोजगारी सिर्जना हुने निश्चित छ । कोरियाको सिपलाई नेपालमा सदुपयोग गर्न र थप व्यवसाय संचालनमा मदत गर्न ८० लाख अमरिकी डलर अर्थात एक अर्बबढी नेपाली रूपैयाँ परियोजनाले खर्च गर्ने भएको छ ।

