सिराहा, ५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल करिब १४ वर्षदेखि निर्माणाधीन रहे पनि अहिलेसम्म पूर्णता नपाएको हुँदा मन्त्रीस्तरीय टोली स्वयं स्थलगत पुगेको हो ।
मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोलीले शुक्रबार पुल क्षेत्रको विस्तृत अनुगमन गरेको थियो । लामो समयदेखि पुल नबन्दा स्थानीयवासीले आवत–जावतमा समस्याभोग्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गर्न बाध्य भएको गुनासो आएपछि मन्त्री घिसिङले प्रत्यक्षरूपमा प्रगतिसमेत अवलोकन गरेका हुन् ।
कमला नदी पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) लागतमा पप्पु–लुम्बिनी जेभीसँग सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७१ मंसिरमै पुल निर्माण सकिनुपर्ने थियो । तर पटक–पटक म्याद थपिँदै आएको यो परियोजनाको आठौँ पटक थपिएको म्याद पनि गत असारमै समाप्त भएको छ । निर्माण व्यवसायीले फेरि आगामी असारसम्मका लागि म्याद थपको प्रस्ताव पेस गरेका छन्, जसको प्रक्रिया अहिले अघि बढाइँदै छ ।
पुल निर्माणमा भइरहेको लम्बिँदै गएको ढिलाइबारे मन्त्री घिसिङले मधेश क्षेत्रको यातायात र आर्थिक विकासका लागि यो पुल अत्यन्तै महत्त्वपूर्ण भएकाले अब निर्माणमा तीव्रता ल्याइने स्पष्ट प्रतिवद्धता जनाए। विगतमा भएका अनियमितताबारे छानबिन भइरहेको र दोषीलाई कानुनबमोजिम कारबाही हुने उनले बताए । अनुगमनका क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिराहा पुगेका थिए, जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग संयुक्त रूपमा निरीक्षण कार्य सम्पन्न भयो ।
हालसम्म परियोजनामा २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ। भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको परियोजनाले जनाएको छ। १२ स्पान भएको पुल ४६९ मिटर लामो छ। ठेक्का मोडेलअनुसार निर्माण व्यवसायीले नै पुलको डिजाइन तयार गरी निर्माण गर्नुपर्ने व्यवस्था थियो । पुलसँगै १,३०० मिटर नदी नियन्त्रण तथा २०० मिटर पहुँच सडक निर्माण पनि परियोजनामा समावेश छ। तर १७ असार २०७८ मा आएको बाढीले पुलका दुई जग भासिएर चार वटा स्लाब क्षतिग्रस्त बनेका थिए । तीमध्ये दुई हटाइसकिएको र बाँकी दुई हटाउन बाँकी रहेको जनाएको छ। माटो परीक्षण एवं परिमार्जित डिजाइन स्वीकृत भइसकेपछि अवशेष संरचना पुनर्निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढाइएको छ ।
स्वीकृत नयाँ डिजाइन अनुसार पुल निर्माण तथा पुनर्स्थापना कार्य आगामी असारभित्र सम्पन्न गरी नियमित यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
