काठमाडाैं । हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ। शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी नागरिकको पनि सहभागिता रहेको थियो।
सो सभामा उनस्हरुले हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवता विरोधी जघन्य अपराध भएको टिप्पणी गर्दै यस्ता कार्यको जति धेरै निन्दा गरे पनि कम हुने बताए। त्यस अवसरमा ड्रिस्ट्रिक्ट ८ का नेपालीमूलका विधायक डा ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। इजरायलमा भएको सो हिंसात्मक हमलाबाट अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गएको र त्यसमा नेपालका १० र अमेरिकाका २२ निर्दोष मानिस परेको जानकारी दिँदै डेलिगेट डा भण्डारीले उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे।
स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतम बुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिल्यै पनि हत्या, आतङ्कका पक्षमा नरहेको र नरहने बताए।
