भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चार वर्षपछि बल्ल पुग्याे लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली

चार वर्षपछि बल्ल पुग्याे लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली

गोरखा, ५ मंसिर । करिब चार वर्षअघि लाइन विस्तार भए पनि विद्युत प्रवाह नआएको गोरखाको लाप्राकमा अन्ततः केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । धार्चे गाउँपालिका–४ स्थित लाप्राक बस्तीमा बिहीबारबाट औपचारिक रूपमा विद्युत आपूर्ति सुरु भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडा अध्यक्ष किसान गुरुङले संयुक्त रूपमा वडा कार्यालयमा बत्ती बालेर प्रसारण लाइनको उद्घाटन गरे । वडा कार्यालयमा मिटर बक्स जडानपछि बस्तीका घरधुरीमा क्रमिक रूपमा मिटर जडान कार्य अघि बढाइएको वितरण केन्द्रका प्रमुख चीजबहादुर गुरुङले बताए । उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान गरिनेछ र यसका लागि दुई प्राविधिक खटाइएको छ । हालसम्म ८० घरधुरीबाट मिटर जडानका लागि निवेदन परेका छन् भने बाँकी निवेदन संकलन भइरहेको छ । भूकम्पपछि गुप्सीपाखामा बनेको एकीकृत नमूना बस्ती र पुरानो लाप्राक गाउँका करिब ६ सय घरधुरीसम्म विद्युत पुर्‍याउने लक्ष्य राखिएको छ ।

११ केभी क्षमताको लाइन चार वर्षअघि नै विस्तार भए पनि आवश्यक मर्मत र वितरण संरचना निर्माण नपुगेकाले विद्युत प्रवाह हुन नसकेको बताइएको छ । अब भने सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलस्वारास्थित सबस्टेसनबाट बिजुली प्रवाह सुरु गरिएको छ । गुप्सीपाखामा १०० केभीए र पुरानो बस्तीमा ५०/५० केभीए क्षमताका दुई ट्रान्सफर्मर जडान गरिएको प्राधिकरणले जनाएको छ ।

स्थानीयवासी अहिले २० र २६ किलोवाट क्षमताका लघुजलविद्युतबाट बिजुली प्रयोग गर्दै आए पनि पावर नपुग्ने, वाइफाइ नचल्ने लगायतका समस्या देखिँदै आएका थिए । केन्द्रीय प्रसारण लाइन बलेसँगै समस्यामुक्त आपूर्ति हुने प्राधिकरणको दाबी छ । वितरण केन्द्र प्रमुख गुरुङका अनुसार अब लाप्राकमा ऊर्जा अभावका कारण दैनिक जीवन तथा सञ्चार प्रवाहमा बाधा नपर्ने बताइएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.