DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

क्रिकेट पूर्वाधारमा कमजोर रनरेट


  • भाद्र २४, २०८०
  • 214 Views
क्रिकेट पूर्वाधारमा कमजोर रनरेट image

काठमाडौँ । भारतविरुद्धको खेलमा नेपाली ब्याटरले श्रीलंकामा जसरी खेले, त्यसको चर्चा अझै सेलाएको छैन । भेट्रान भारतीय खेलाडीले समेत नेपाली खेलको प्रशंसा गरिरहेका छन् । प्रायःको एउटै निचोड छ, नेपाली क्रिकेट खेलाडीमा प्रतिभाको कमी छैन । विश्व क्रिकेटमा सम्भावना धेरै राम्रो छ, खाँचो छ त अन्तर्राष्ट्रियस्तरको पूर्वाधारको ।

नेपालमा क्रिकेटको इतिहास सय वर्षभन्दा पुरानो छ । इतिहासमा जति समृद्ध छ, भौतिक पूर्वाधारलाई हेर्दा नेपाली क्रिकेट उत्तिकै गरिब पनि छ । नेपाली क्रिकेट खेल निकै लामो समयसम्म टुँडिखेलमै सीमित रह्यो, कम्तीमा काठमाडौंको क्रिकेट । उसले यो घेरालाई तोड्नै सकेन । पञ्चायतकालको अन्त्यतिर टुँडिखेलमा केही राम्रा मान्न मिल्ने प्रतियोगिता हुन्थे । त्यसैमध्येको एक थियो, केकेएम रनिङ सिल्ड । केकेएम अर्थात् काठमाडौं खेल मण्डल । यो भनेको न्युरोड टिम (एनआरटी) नै हो । राणा शासकबाट छुट्टिएर बनेको पहिलो क्लबमध्ये एकमा पर्छ, एनआरटी ।

२०४४ सालतिर केकेएमको एक कार्यक्रममा मन्त्री केशरबहादुर विष्टले कुरैकुरामा भनिदिए, ‘अबको केही वर्षमा नेपालमा क्रिकेट रंगशाला बन्नेछ । यसका लागि आजैदेखि काम सुरु गर्छु ।’ माहोल एकाएक भावनात्मक बन्यो, क्रिकेट खेलाडीमा खुसीको सीमै रहेन । तर, क्रिकेट रंगशाला बनाउने विष्टको कुरा कुरैमा सीमित रह्यो । नेपालमा क्रिकेट रंगशाला बनाइदिन्छु भन्नेहरूको अहिले पनि कुनै कमी छैन । समय फेरियो तर क्रिकेटका समस्या ज्युँकात्युँ छन् । एसिया कप २०२३ खेल्न जानुअघि नेपाली टिमका प्रशिक्षक मोन्टी देसाई गुनासो पोख्दै थिए, ‘अभ्यासका लागि राम्रो ठाउँ नै भएन । पानी पर्‍यो कि प्रशिक्षण गर्न पाइन्न । बत्तीको पनि उस्तै समस्या छ ।’

एसिया कपमा विश्व क्रिकेटका महाशक्ति पाकिस्तान र भारतकै समूहमा थियो, नेपाल । जुन आफैंमा गज्जब थियो । दुवै वान डे विश्वकप जितिसकेका टिम हुन् । दुवै महाशक्तिविरुद्ध नेपालको प्रदर्शन अपेक्षाभन्दा राम्रो रह्यो । प्रश्न हो, नेपाली क्रिकेट त्यसै त्यसै राम्रो भएर जाने हो कि, यसका लागि सुधारका कार्यक्रम पनि चाहिन्छ ? नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा प्रगति गरे पनि घरभित्र भने केही कुरामा साह्रै कमजोर छ ।

नियमित प्रतियोगिता हुँदैनन्, खेलाडीले गर्ने के रु उमेर समूहमा खासै केही हुन्न, राम्रा खेलाडी उत्पादन हुने कसरी रु एकमात्र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेनतेन राष्ट्रिय प्रतियोगिता भइरहेका छन् । २००५ मा नेपालले १५ राष्ट्र सम्मिलित एसीसी यू–१९ कप आयोजना गरेको थियो, त्यसयता सकेको छैन । १८ वर्षअघि यू–१९ प्रतियोगिताका खेल कीर्तिपुरसहित टुँडिखेल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका दुई मैदानमा भएको थियो । कीर्तिपुरबाहेक अहिले यी कुनै मैदान प्रयोगमा छैनन् ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेको अवस्थामा निजी क्षेत्रले सरकारद्वारा जग्गा उपलब्ध गराइदिए रंगशाला बनाउन तयार रहेको घोषणा गर्छन् । अनि त्यसै सेलाएर जान्छ । श्रीलंकाको क्यान्डीमा नेपाल र भारतबीचको खेल हेरेपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नेपालमा पनि एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको महसुस गर्दै सरकारले १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका थिए । उनले ग्रास रुटको क्रिकेट विकास गर्न महानगर लागिपरेको जनाएका थिए ।

काठमाडौं महानगर साँच्चिकै ग्रास रुटबाटै क्रिकेट विकास गर्न चाहन्छ भने अन्तर्राष्ट्रिय रंगशाला बनाउनुभन्दा पहिले टुँडिखेलमा २–४ वटा एस्ट्रो टर्फ बिछ्याएर राम्रो घाँस दिए, त्यहाँ पुग्नेले आरामसँग खेल्न पाउने छन् । यसले स्थानीयस्तरमा खेलाडी उत्पादनमा सहयोग गर्नेछ । कीर्तिपुर मैदानमा फ्लड लाइटसहितको सुविधा थप्ने हो भने ठूला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्षम छ । क्यान्डीको पालेकेले रंगशालाले पूर्ण प्यारापिट नै नचाहिने देखाइसकेको छ । विकेटको अगाडि र पछाडिको मिडिया सेन्टर र पेभेलियन तथा दायाँबायाँ घाँसे मैदानमा बसेर हेर्न मिल्ने पालेकेलेको संरचना

ठ्याक्कै कीर्तिपुरकै जस्तो छ । काठमाडौंकै मूलपानीमा माथिल्लो मैदान प्रयोगमा ल्याइएको र तल्लो मैदान अपर्याप्त बजेटका कारण निर्माणाधीन अवस्थामा छ । माथिल्लो मूलपानी मैदान खेल्नयोग्य भए पनि अझै पूर्ण रूपमा सकिएको छैन । यही मैदानसहितमा नेपालले वैशाखमा एसीसी प्रिमियर कप आयोजना गरेको थियो । नोभेम्बर १ देखि १० सम्म नेपालले १० राष्ट्र सम्मिलित एसिया क्षेत्रको ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दै छ । कीर्तिपुर र माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता हुनेछ ।

तल्लो मूलपानी निर्माणाधीनकै क्रममा रहेकाले राजधानीमा तेस्रो मैदान अहिले पनि अपुग छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यू–१९ विश्वकप आयोजनाको जिम्मेवारी तोकिसकेको अवस्थामा तल्लो मूलपानीको निर्माण समयमै सम्पन्न गर्नु टड्कारो छ । कर्णालीबाहेक लगभग सबै प्रदेशमा क्रिकेट रंगशाला निर्माण क्रममा छन् । कोशीमा विराटनगरस्थित बैजनाथपुर, मधेशको जनकपुर, वाग्मतीमा कीर्तिपुर, बुढानीलकण्ठ र मूलपानीमा दुईवटा, गण्डकीमा पोखरा, लुम्बिनीमा रूपन्देहीको भैरहवा, दाङको घोराही, बाँकेको कोहलपुर र सुदूरपश्चिमको कैलालीमा रंगशाला एवं खेल ग्राम निर्माणाधीन छन् ।

तर, सरकारको टुक्रे बजेटले निर्माण समयमै सकिनेमा शंकै छ । सरकारबाट ४१ बिघा जग्गा पाएपछि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एवं खेल ग्राम विकास खेलकुद मोडलको अवधारणामा बन्न लागेको पहिलो रंगशाला हुनेछ । स्थानीय, प्रदेश, केन्द्र सरकार सबैलाई यसमा समेटिएको छ । यसको निर्माणका लागि सरकारले विभिन्न बाटो खोलिदिएको छ । विदेशी सहयोग पनि लिन मिल्ने बनाइएको छ । प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणका क्रममा यो विषय उठाइएको थियो र दुवै पक्ष यसको निर्माणमा सहमत थिए ।

यस वर्ष डीपीआर निर्माणका लागि १ करोड बजेट छुट्याइएको र सिलिङमा राखेर आशय पत्रले मागेअनुसार आवश्यक थप बजेट निकाल्न सकिने धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एवं खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले बताए । ‘अबको एक महिनाभित्र यसको बोलपत्र आह्वान गरिनेछ,’ उनले भने, ‘३ वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।’

एसिया कपमा नेपालको राम्रो प्रदर्शनपछि यो प्रश्न अझ सान्दर्भिक भएको छ । नेपाली क्रिकेटलाई चाहिने भौतिक पूर्वाधार खासमा कस्तो हो रु सम्भवतः यस प्रश्नका दुईवटा उत्तर हुन सक्छन् । एउटा स–साना संरचना निर्माण गर्ने र अर्को ठुल्ठूला भौतिक संरचना तयार गर्ने । टुँडिखेलमा क्रिकेट खेलेर हुर्केका र लामो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी पनि सम्हालेका पारस खड्का नेपाली क्रिकेटको भौतिक संरचना देखेर चिन्तित नै देखिन्छन् । उनी नेपाली क्रिकेटलाई अहिले तत्कालका लागि विदेशमा देखिने जस्तो ठुल्ठूला हजारौं हजार दर्शक अटाउने रंगशाला आवश्यक नहुन पनि सक्ने ठान्छन् । उनका अनुसार सातै प्रदेशमा सुरुमा अत्याधुनिक क्रिकेट मैदान बनाउन सकिन्छ । यी सातै मैदानमा आधुनिक क्रिकेटका लागि चाहिने सबै सुविधा भने उपलब्ध हुनुपर्छ ।

जस्तो, अब्बल दर्जाको पिच । पिच पनि एकभन्दा बढी मैदानमा ‘ड्रेनेज’ को अति उत्तम व्यवस्था । ड्रेसिङ रुम पनि राम्रो होस् । स्कोर बोर्ड पनि त्यस्तो होस्, हेर्दैमा खेलको सार खिच्न मिलोस् । सँगै अभ्यासका लागि ब्याटिङ र बलिङका लागि फरक–फरक खालका पिच बनून् । केही पिचमा हल्का घाँस होस् । केही स्पिन मैत्री त केही ब्याटर मैत्री पिच । फेरि यसलाई वर्षाले बिथोल्न पनि नपाओस् । छेउमै तागतिलो खानका लागि मेस पनि बनाइयोस् । यस्तो भनेको खेलाडीले प्रशिक्षण गर्दा होस् अथवा खेल्दा मन खोलेर सबथोक गर्न पाओस् ।

गत साता पारस वाग्मती प्रदेश क्रिकेट समितिको अध्यक्षमा चुनिएका थिए । त्यसअघि उनले आफ्नो घोषणापत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदान, वीरेन्द्र सैनिक आवासीय विद्यालय मैदान, हेटौंडाको गौरीटार र चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको मैदान प्रयोगमा ल्याएर क्रमशः ललितपुर, भक्तपुर, मकवानपुर र चितवनमा क्रिकेटको गतिविधि निरन्तर बनाइराख्न योजना अगाडि सारेका थिए । पुल्चोक क्याम्पस र वीरेन्द्र सैनिकमा पारसले विशेष चासो देखाउनुको कारण यही मैदानमा उनले विगतमा अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेका थिए । दुर्भाग्य अहिले यी मैदान खासै प्रयोगमा छैनन् ।

पछिल्लो समय नेपाली क्रिकेटलाई तनमन दुवैले सक्दो सेवा गरिरहेका शक्ति गौचनको पनि लगभग यस्तै आशय छ । उनी आफैं भैरहवामा एकेडेमी चलाइरहेका छन् । उनको एकेडेमीबाट त अन्तर्राष्ट्रिय खेलाडी पनि एकपछि अर्को निस्किसके । उनी पनि नेपाली क्रिकेटको विकासका लागि सुविधासम्पन्न मैदान नै पहिलो आवश्यकता रहेको मान्छन् । सम्भवतः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सुरुमा जोड दिने पनि यस्तै मैदानलाई हो । ठुल्ठूला रंगशाला बनाउन बजेट पनि ठूलै आकारको चाहिन्छ । शक्तिका विचारमा नेपालमा अत्याधुनिक सुविधासम्पन्न क्रिकेट मैदान दसरबाह्रवटा मात्र हुने हो भने पनि धेरै काम गर्न सकिन्छ । यो सोच्दा मात्रै पनि मन फुरुङ्ग हुने उनी बताउँछन् । ‘के यत्ति काम पनि नेपाल सरकारले गर्न सक्दैन रु,’ शक्ति प्रश्न गर्छन् ।

ठूला कि स–साना संरचना ?

ठूला रंगशाला निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरको ठूलै खेल पनि चल्छ । सुविधासम्पन्न ठूला होटल चाहिन्छन् । सबै खाले सुरक्षाको व्यवस्था पनि उत्तिकै दरिलो हुनुपर्छ । आम दर्शकको सुविधा र सुरक्षामा पनि कुनै प्रकारको सम्झौता गर्न पाइन्न । यी त भए, आधारभूत कुरा । केही ठूला निर्णय गर्नु अगाडि क्रिकेटका विशेषज्ञसँग बसेर गम्भीर छलफल र बहस हुनैपर्छ । लगानी धेरै गर्दा त्यसको प्रतिफलबारे पनि सोच्नुपर्छ । मनमै राख्नुपर्ने कुरा के पनि हो भने भारत, अस्ट्रेलिया र इंग्ल्यान्डलाई छाडेर अन्य टेस्ट खेल्ने देशमै पनि धेरै ठुल्ठूला संरचना निर्माण गरिएका छैनन् ।

भारतको त कुरै अर्को, यो देशमा ठुल्ठूला क्रिकेट रंगशाला जत्ति पनि छन् । अस्ट्रेलियाको कुरा गर्दा मेलबर्न र सिड्नीका रंगशाला भव्य छन्, विशाल छन् । इंग्ल्यान्डमा लर्ड्स र ओभल क्रिकेट मैदान ठूला छन् । टेस्ट मान्यता पाएका अन्य देशले स–सानै रंगशालाबाट काम चलाइरहेका छन् ।

अस्थायी मैदानमै करोडौं खर्च

अहिले हामीसँग जति पनि पूर्वाधार तयार छ अथवा तयार हुने अवस्थामा छ । प्रतियोगिता मुखमै आयो कि पिच बनाएर केही समयका लागि मैदान बनाउने बानी पनि छ हाम्रो । टुँडिखेलकै कुरा गर्ने हो भने त्यहाँ पनि दुईवटा पिच बनाएर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएका छन् । प्रतियोगिता सकियो, लाखौंलाख खर्च गरेर बनाइएका पिच र मैदान त्यसै हराए । यस्तै अवस्था पुल्चोकको इन्जिनियरिङ कलेजभित्रको मैदानको पनि छ ।

त्यहाँ कतिपल्ट पिच बन्यो र कतिपल्ट मैदान सम्याइयो, कुनै लेखाजोखा छैन । जावलाखेलको सेन्ट जेभियर्स कलेजभित्र पनि कुनै समय पिच र मैदान बनाएर अन्तर्राष्ट्रिय क्रिकेट भएको थियो । अहिले त्यसको नामोनिसान नै छैन । धनगढीमा डीपीएल हुँदा प्रत्येक वर्ष मैदान र पिचका लागि लाखौं खर्च हुन्छ । प्रतियोगिता सकिएपछि ती सबै त्यसै खेर जान्छन् । यसरी अस्थायी रूपमा बनेका मैदान र पिचमै मात्र अहिलेसम्म करोडौं रुपैयाँ खर्च भइसकेको छ ।

हामीसँग अहिले तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न सक्ने दुई रंगशाला तयार छन् । एक त उही हाम्रो कीर्तिपुरको मैदान भयो । कीर्तिपुरको रंगशाला पनि जी–टीभीले सुरुमा नबनाइदिएको भए के हुन्थ्यो रु अहिले हामी कल्पना पनि गर्न सक्दैनौं । दुई वर्षजति भयो, त्यहाँ फ्लड लाइट्स राख्नका लागि कुरा भएको । बजेट आए पनि काम अगाडि बढ्न सकेको छैन ।

अर्को मूलपानीको माथिल्लो मैदान । यसमै क्यानको कार्यालय पनि छ । यसको सुरुआत गरिएको थियो, एकेडेमी बनाउने सोचले । मूलपानीकै तल्लो मैदान भने राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा छ र यो अझै बन्ने क्रममै छ । मूलपानीका यी दुवै मैदानको निर्माण सुरु भएको दुई दशक बितिसकेको छ । यी दुवै मैदान ठ्याक्कै कहिले सकिने हुन्, अत्तोपत्तो छैन ।

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि बन्ने क्रममै छ । समस्या हो, कसरी बन्ने र कसले बनाउने भन्ने रु जसरी बन्न सुरु भएको थियो, त्यसको ‘मोडल’ नै आफैंमा अनुपयुक्त थियो । पोखराको स्थिति पनि लगभग मूलपानीकै जस्तो छ । पोखरामा त पीपीएल मात्र होइन, पछिल्लो दक्षिण एसियाली खेलकुदको महिला क्रिकेट पनि भएको थियो । जे होस्, सबैतिर केही न केही समस्या छन् । यिनै कुराले समयमा काम हुन सकेको छैन ।

यसबीच, अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाइरहेका विनोद कुँवर र उनको परिवार रूपन्देहीको तिलोत्तममा अर्को क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेका छन् । कम्तीमा अहिलेका लागि नेपाली क्रिकेटको विकासका लागि चाहिने भौतिक पूर्वाधार निर्माणका लागि काम सुरु गर्ने समय बनिसकेको छ, नत्र असाध्यै ढिला हुन सक्छ । विश्वमा जति पनि ‘आइकोन’ खेलका रंगशाला छन्, ती सबै सुरुमै त्यस्तै भव्य स्थितिमा थिएनन् । समयसँगै त्यसमा लगानी बढ्दै गयो, त्यसको आधार पनि ठूलो हुँदै गयो । हाम्रै दशरथ रंगशालाले पनि धेरै पल्ट रूप फेरिएको छ ।

ठूलै केही गर्ने लोभले त्यही एक दशरथ रंगशाला पनि नबनेको भए रु एउटा तथ्य निश्चित छ, नेपाली क्रिकेटलाई अहिलेको तुलनामा अझ विकास गर्ने हो भने, अझ टेस्ट टिमकै मान्यताका लागि लड्ने हो भने अहिलेसँग जेजति भौतिक पूर्वाधार निर्माण भएका छन्, त्यतिले पुग्दैन । काम सुरु गर्ने समय यही हो । माहोल ठीक बनेको छ । नत्र फेरि पुरानै कुरा दोहोरिन्छ, त्यही टुँडिखेलमा तत्कालीन मन्त्री विष्टले क्रिकेटका लागि रंगशाला बनाइदिने आश्वासन दिएजस्तै ।

नेपाली दर्शकको क्रिकेटप्रतिको अगाध प्रेमले विश्वकै ध्यान तानिसकेको छ । एसीसी प्रतियोगिताका कीर्तिपुर मैदानमा दर्शकहरू उर्लिएको तस्बिरले फेरि एक पटक नेपालमा क्रिकेट खेलको प्रचुर सम्भावना छ भन्ने पुष्टि गरेको छ । कमजोर पूर्वाधारका बाबजुद घामपानी नभनी आफ्ना खेलाडीको हौसला बढाउन दर्शकले साथ दिएजस्तै पूर्वाधार विकासमा क्यान र सरकार गम्भीर बनिदिने हो भने नेपाली क्रिकेटमा अहिले देखिएको उत्साह दिगो बन्ने थियो ।

‘फ्लड लाइटका लागि टेन्डर’

कीर्तिपुर मैदानमा फ्लड लाइट जोड्नका लागि भ्याटबाहेक २८ करोडको पुनः टेन्डर आह्वान गरिएको छ । गत वर्ष ५ वटा टेन्डर परेका थिए तर कागजी प्रक्रिया पूरा नगरेको र प्रभावकारी नभएकाले टेन्डर प्रदान गर्न सकिएको थिएन । ४५ दिनको सूचना जारी गरेर पुनः खोलिएको टेन्डर अब एक साताभित्र खोलिनेछ । यस पटक प्रक्रिया पूरा गरी टेन्डर पर्ने आशा लिएका छौं । गत वर्ष टेन्डर भरेकाहरूले पनि आफ्नो कमजोरी बुझेको हुनुपर्छ ।

स्रोत किस्तामा, अंशमा जसरी आइरहेका कारण मूलपानी तल्लो मैदान समयमै निर्माण गर्न ढिला भइरहेको छ । स्रोत र अंशमा आएको रकमलाई ठेक्का गर्दै लानुपर्छ । पहिला १० करोडको ठेक्का गरिएको थियो, त्यसको काम गर्न २–३ वर्ष लागेको थियो । अहिले ३२–३३ करोडको ठेक्का चलिरहेको छ । यो पनि म आउनुभन्दा अगाडि नै लगाएको हो । यसरी ठेक्का गर्दै जाने हो भने मूलपानी बन्न कति दशक लाग्ला भन्ने प्रश्न हो । मूलपानीको मुख्य चुनौती यही हो । मूलपानीको योजनालाई २ महिनाभित्र सकेर नयाँ हिसाबमा जानु जरुरी छ । यस वर्ष मूलपानीलाई १५ करोड परेको छ । तर, यो रकमले काम सकिँदैन । पहिलाको योजनाभन्दा माथि उठेर अत्याधुनिक, फ्लड लाइट, स्कोर बोर्डसहितको निर्माण गर्ने भन्ने छ । पहिला यसको दर्शक क्षमता ११ हजारको थियो, अब २१ हजारसम्मको बनाउन खोजिएको छ ।

सबएयर सिस्टम हाल्ने योजना बनाएका छौं । यसले जति ठूलो पानी परे पनि रोकिएको ५ मिनेटभित्रै खेल सञ्चालन गर्न सकिनेछ । मूलपानीमा ४ सय जनाको सुविधासम्पन्न होस्टल, डबल डेकरको ग्यालरी, अन्य धेरै फिचर्स नयाँ योजनाअनुसार राख्न खोजिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले युवा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सुनिश्चिताका लागि फाइल अगाडि बढाएको छ । किस्ता र अंशमा होइन, एकमुष्ट रूपमा मूलपानीको तल्ला मैदान निर्माण गर्न जति बजेट लाग्छ, त्यो एकै पटक खरिद प्रक्रिया अगाडि बढाउने गरी फाइल बढाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँग सम्झौता गरेको र त्यो हस्तान्तरण भएपछि मात्र काम अगाडि बढाउन सकिन्छ । त्यसका लागि मन्त्रिपरिषद्ले तयारी गरिरहेको छ । यसभन्दा अगाडि भएका प्रयास सफल भएका थिएनन् । फाप्लाका लागि छुट्टै विकास समिति बनाइएको छ ।(कान्तिपुर दैनिकबाट…)

 


Thali Mobile Pvt.Ltd.