DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संकलित राहत सामग्री नगरपालिकामा कुहिँदा पनि विस्थापित भोकै रात कटाउन बाध्य


  • भाद्र ३१, २०७७
  • 385 Views
संकलित राहत सामग्री नगरपालिकामा कुहिँदा पनि विस्थापित भोकै रात कटाउन बाध्य image

बागलुङ । वर्षा भइरहेकाले बस्न र रात कटाउन समस्या छ । खाने कुरा छैन, तर संकलित राहत सामग्री नगरपालिकामा कुहिँदा पनि सरोकारवाला भने एकद्वार प्रणालीको रटानमा छन् । झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् ।

भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ । भदौ १७ मा बाढीपहिरोले विस्थापित भएका ढोरपाटन नगरपालिका–९ सुकुरदुङका नमलाल पुन र उनका भाइ छमेन्द्रको परिवार १३ दिनदेखि पालमुनि जीवन निर्वाह गरिरहेका छन् ।

३ वर्षको नाति, बुहारी बिनासहित पुनकी पत्नी एकातिर र दाजुभाइ, छोरा अर्कोतर्फ सुत्छन् । खान, बस्न र रात कटाउन उनीहरूलाई निकै कष्टकर छ ।मकैबारीभित्रै चित्राले बारेर शौचालय बनाएका छन् । घर बग्दाबग्दै एकजोर कपडा र एउटा खाट मात्रै निकाल्न भ्याएका थिए । त्यही खाटमा बस्ने र खाने गर्छन् । चिसो सहँदै भुइँमै सुतिरहेका छन् ।

बाढीपहिरो गएपछि यहाँको अवस्था हेर्न धेरै मानिस आए, अहिले पनि आउने क्रम घटेको छैन । पहिरोले क्षतविक्षत सडक हुँदै हातमा चप्पल समातेरै आइपुग्नेले फोटो खिच्छन्, पहिरो गएको दिनको घटना सोधेर फर्कन्छन् । तर उनीहरूको घरमा घटनाको भोलिपल्ट पाएको पाल र केही चामलबाहेक अन्य राहत पुगेको छैन ।

‘पहिलो दिनमा आएको दुई बोरा चामल र पालबाहेक अरू भेटेको छैन,’ छमेन्द्रले भने, ‘कांग्रेसका टोली आएर चामल र पाल दिएका हुन्, त्यसैमा बसेका छौं, अरू कोही आएनन् ।’ नगरपालिकामा जम्मा भएको राहत सामग्री गाउँमा नपुगेको विस्थापितको गुनासो छ । नगरपालिकामा घरजस्तै बनाउन मिल्ने डेढ सय टेन्ट छन् । सामान्य पानी ओत्ने पाल त्योभन्दा बढी छन् । विभिन्न दाताले दिएका सयौं थान सिरक–डसना नगर प्रमुख देवकुमार नेपालीको दरबार होटलमा थन्किएका छन् ।

सयौं बोरा चामल वडा कार्यालयमा थुप्रेको र कीरा (चिलेसा) पर्न थालिसकेको वडाध्यक्ष हरिबहादुर घर्ती नै बताउँछन् । तर एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने भन्दै हालसम्म पीडितकोमा राहत पुर्‍याइएको छैन । विस्थापितहरूको बिजोग हुँदा पनि सरोकारवालाहरू भने योजना रहेको मात्रै सुनाइरहेका छन् । ‘अब समय मिलाएर वितरण गर्ने योजना छ,’ वडाध्यक्ष घर्तीले भने । कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.