भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

सडक सञ्जालले खोसिएको रोजगारी


  • २०८० भाद्र २७, बुधबार
  • 131 Views
सडक सञ्जालले खोसिएको रोजगारी image

मनाङ। लमजुङको बेँसी सहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ मानिएको थोराङ्ला पाँच हजार चार सय १६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । चल्तीको यो पदमार्ग सडक सञ्जालको चपेटामा परेको छ । सडक सञ्जाल पुगेपछि कैयौं पदमार्ग भत्किएका छन् भने केही पदमार्गबाटै सडक बनेको छ । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ ।

पर्यटकीय सिजन सुरु भएकाले हालै मात्र अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० को सहकार्यमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिको टोली तिलिचोसम्मको अनुगमन भ्रमण गरेर फर्किएको छ । पहिले २१ दिन लाग्ने यस पदमार्गको मारमा यहाँका भरिया मात्रै नभई स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । ठाउँठाउँमा पदमार्ग भत्किँदा, ट्रेलहरु बिग्रँदा, बोर्डहरु मेटिँदा पर्यटकलाई असुविधा भएको छ भने सडक सञ्जालले गर्दा दैनिक मजदुरी गरेर खाने वर्गको रोजीरोटी खोसिएको छ ।

बेँसी सहरबाट पुमाखोला पुल तरेपछि आउने दोस्रो बस्ती हो चनौटे । चनौटेको धूले सडकमा जिप हुइँकिँदा यहाँका स्थानीयको रोजगारी पनि खोसिएको छ । यही बाटोमा भारी बोकेर खाने यहाँका भरियाले गाडी हिँड्न थालेपछि यिनैले उडाएको धूलो सास्तीसँगै उपहार बनेर आएको छ । बेँसी सहरबाट चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खुलेसँगै भारी बोक्ने काम बिस्तारै सुस्तायो । मालसामान सबै जिपमा ओसार्न थालेपछि ०७१ सालदेखि त भरियाको काममै पूर्णविराम लागेको छ । “हेर्दाहेर्दै गाडीले भारी बोक्न थाले”, जिपपछाडि राखेका भारी देखाउँदै गोरखाका ४० वर्षीय श्यामबहादुर गुरुङले भन्नुभयो, “काम खोसिएपछि छोराछोरी हुर्काउनै पो धौधौ परिरहेको छ ।”

बेँसी सहरको मनाङे चौतारादेखि मनाङसम्म भारी बोक्नुभएको गुरुङले भन्नुभयो, “कहिले गोराको भारी बोकियो त कहिले साहुको ।” मनाङमा ०५० सालसम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यसले संरक्षण र पर्यटनमा काम गर्न थाल्यो । सन् १९९६ देखि चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार गर्न थाले । त्यतिबेलासम्म पनि मनाङमा खासै खच्चड हिँड्ने थिएनन् ।

पर्यटक र स्थानीय कतैकतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यहीबेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । त्यो पनि न्यून मात्रामा छ । गाडी चलेपछि खच्चड र भरिया विस्थापित भएको उहाँको भनाइ छ । व्यवसायी गुरुङले भारी बोक्ने खच्चड पनि बिस्तारै घट्दै गएको र हाल नार्पाभूमि गाउँपालिकातिर मात्रै भारी बोक्न खच्चड प्रयोग हुन थालेको बताउनुभयो ।

वि।सं। ०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधैँ होटलमा बास बस्न थालेका छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपरेन । गाडी चल्न थालेपछि पर्यटक पनि गाडीमै, सामान पनि गाडीमै । भरियाबिनै काठमाडौं–पोखराबाट बेँसी सहर हुँदै सिधै माथिल्लो मनाङ पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा चक्रीय अन्नपूर्ण पदमार्गमा वर्षेनी १९ हजारको हराहारीमा विदेशी पर्यटक यहाँ भित्रिन्थे । सन् १९९९ मा आठ हजार पर्यटकले चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क राखेका छैनन् । बेँसी सहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेँसी सहर बास बस्न आउँथे । बेँसी सहरबाटै भरिया लैजान्थे । जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार २ जना बराबर १ जना भरिया हुन्थे ।

करिब दुई दशक पथप्रदर्शक रहेका गोरखाका ईश्वर अधिकारीका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा ०५० सालतिर भरियारले प्रतिदिन २ सय ५० रुपियाँ लिन्थे । ०६५ तिर प्रतिदिन ५ सय रुपियाँ लिन्थे । पछिल्लो समय ०६९र०७० तिर प्रतिदिन १ हजार रुपियाँ लिन थालेको अधिकारीले बताउनुभयो । “पर्यटकीय मौसमको ६ महिनामा एक जना भरियाले मात्रै सवा लाख बढी आम्दानी गर्थे,” उहाँले भन्नुभयो, “अरू महिना मनाङसम्म खाद्यान्न, निर्माण सामग्री बोक्थे । उनीहरूको गुजारा चल्थ्यो । अहिले सिधै पोखरा–काठमाडौंबाट केही भरिया ल्याउँछन् ।” पहिले बेँसी सहरदेखि मनाङ–मुस्ताङ हुँदै बेनी–पोखरासम्मको २१ दिनका लागि बेँसी सहरबाट भरिया लगिन्थ्यो । अहिले मोटर चलेपछि काठमाडौं–पोखराबाट पर्यटक सिधै मनाङ पुग्छन् ।

खाङसारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला पास हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया उतैबाट ल्याउँछन् । “अहिले यताका भरिया त कता हराए कता, सबै पलायन भएजस्तो छ,” अधिकारीले भन्नुभयो । नेपाली सेनाले मनाङ सदरमुकाम चामेसम्म सडकको ट्रयाक खोलेर हस्तान्तरण गरेसँगै धेरै भरियाको पेसा सङ्कटमा पर्न सुरु भयो । विकट नार्पाभूमि गाउँपालिकामा भने खच्चडको प्रयोग यथावतै रहेको अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जालले यो पालिकालाई छुन सकेको छैन, मालसामान ढुवानीको एक मात्र माध्यम खच्चड नै हो, भरिया पाउन त मुस्किल नै छ ।”

बस्तीहरू समेत नभएको पहाडी बाटोमा भारी बोकेर हिँड्ने काम सजिलो भने होइन । भारी बोक्दाका दुर्घटना र कहाली लाग्दा घटना श्यामबहादुरको सम्झनामा अहिलेसम्म ताजै छन् । भारी बोकेर मनाङ पुगेकाहरू फर्किंदा रित्तै फर्किनुपर्ने भएपछि ३ रुपियाँ किलोमा आलु किन्थे र बेँसी सहर ल्याएर ६ रुपियाँ प्रतिकिलोमा बेच्थे । प्रतिगोटा स्याउ १–२ रुपियाँमा किन्थे र बेँसी सहर ल्याएर प्रतिगोटा ३–४ रुपियाँमा बेच्थे । ग्रामीण अर्थतन्त्रको यो स्वरूप गाडी गुड्न थालेपछि अहिले फेरिएको छ । ‘धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर फल्छ । मनाङको आलु धेरैजसो मनाङमै बिक्री हुन्थ्यो । हिजोआज आलु मनाङमा बिक्री हुँदैन । “पहिले फापर फलाउँदै आएका किसानले खेती गर्न छाडेका छन्”, मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भन्नुभयो, “आलु भने बेँसी सहर हुँदै पोखरा–काठमाडौंसम्म पुग्छ । आफ्नै गाउँठाउँमा बिक्री गरेजस्तो मनाङीलाई बाहिर लगेर बेच्न सहज भने छैन ।”

एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जिपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे ९मनाङ० सम्म पनि यातायात चल्छ । त्यसपछि भीमथाङ, लार्के ९मनाङ(गोरखा० सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यो बाटोमा अहिले खच्चड प्रयोग हुन्छ । तिलिचोतर्फ खाङ्सारसम्म जिप एकै दिनमा पुग्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । लमजुङ बेँसी सहरबाट थोराङ्लातर्फ मनाङगाउँसम्म एकै दिनमा पुगिन्छ । त्यहाँबाट २ दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ ।

यस्तै, ०६९ सालसम्म बेँसी सहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाहरूले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । सिङ्गो मनाङमा भरियाले नै खाद्यान्न पुर्‍याउँथे । मङ्सिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू ८ महिना गाउँमै बस्थे । गोरखा पत्र दैनिकबाट….


hotelghyampedanda