काठमाडौं । बालबालिकालाई सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नमा सघाउन तिनको सामाजिक सञ्जाल साक्षरतामा सुधार ल्याउन सक्नुपर्छ अस्ट्रेलियाको संघीय सरकारले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने राष्ट्रिय योजना बनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘कुनै पनि सरकारले सबै बालबालिकालाई सबै खतराबाट जोगाउन सक्दैन’ भन्ने स्विकार्दै आफूले सक्दो प्रयास गर्ने बताएका छन् । यद्यपि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा बालबालिकाले सामना गर्ने सम्भावित अनलाइन जोखिमको समस्या समाधान गर्दैन, अर्थात् यसले समस्यालाई केही समयका लागि रोक मात्रै लगाउनेछ ।
किनभने, जब बालबालिका सामाजिक सञ्जाल प्रयोग गर्ने उमेरमा पुग्छन्, त्यतिवेला पनि जोखिम उस्तै रहनेछ । बालबालिकालाई सुरक्षित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न मद्दत गर्ने उत्तम उपाय भनेको तिनको सामाजिक सञ्जाल साक्षरतामा सुधार ल्याउनु हो ।
के हो सामाजिक सञ्जाल साक्षरता ?ः सामाजिक सञ्जाल साक्षरता भनेको सामाजिक सञ्जालमा देखिने सामग्रीबारे बुझ्न एवं आलोचनात्मक रूपमा सोच्न सक्नु हो र यी सामग्री किन राखिए भनेर थाहा पाउनु हो । तपाईंको सामाजिक सञ्जाल फिडमा देखा पर्ने छवि ९इमेज० र भिडियो संयोगले उपलब्ध भएका होइनन् भनेर बुझ्न आवश्यक छ ।
यी सामग्री सञ्जाल अल्गोरिदमका कारण देखा परेका हुन्, जसले तपाईंको व्यक्तिगत तथ्यांकलाई तपाईंका रुचि र तपाईं कस्ता सामग्रीमा संलग्न हुनहुन्छ भन्नेसँग जोड्छ । त्यही भएर सबैको सामाजिक सञ्जालमा देखिने सामग्री भिन्न–भिन्न हुने गर्छ । यी अल्गोरिदमले कसरी काम गर्छन् भन्नेबारे हामीलाई थाहा छैन । किनभने, फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाल मञ्चले अल्गोरिदमलाई गोप्य राख्छन् ।
यद्यपि केही अनुसन्धानकर्ताले यसलाई परिवर्तन गर्न काम गरिरहेका छन् । अहिले विश्वभर डिजिटल मिडिया साक्षरताको अभाव छ, जसमा इन्टरनेटको युगमा जन्मिएका नवयुवा एवं सामाजिक सञ्जाल प्रयोगकर्ता पनि छन् । मैले आफ्नै अनुभवले यो ज्ञानको कमी महसुस गरेकी छु ।
हालै मैले अस्ट्रेलियाका करिब तीन सय विश्वविद्यालयका विद्यार्थीलाई सामाजिक सञ्जालबारे बताएकी थिएँ । तीमध्ये अधिकांशले आफ्नो सामाजिक सञ्जालमा कस्तो सामग्री देखा पर्छ भनेर निर्णय गर्ने अल्गोरिदमबारे कहिल्यै नसुनेका बताएका थिए । सशक्तीकरणको सन्देश स् सामाजिक सञ्जाल साक्षरताको कमीले यस क्षेत्रमा शिक्षाको व्यापक अभावलाई प्रतिबिम्बित गर्छ ।
मौजुदा न्यूनतम सामाजिक सञ्जाल साक्षरता शिक्षा पनि निकै नकारात्मक र रक्षात्मक छ । जब म नवयुवासँग कुरा गर्छु, तब तिनले आफूलाई वयस्कले गर्न नहुने सबै कुरा बताउने गरेको भन्ने गर्छन् । उदाहरणका लागि यसमा ‘सामाजिक सञ्जालमा धेरै लामो समय नबिताऊ र आफ्नो फोन बन्द गर’ जस्ता उपाय पर्छन् ।
यसले युवालाई कसरी यौनबारे सिकाइएको थियो भन्ने पनि स्मरण गराउँछ । तर, अहिले यौन शिक्षामा परिवर्तन हुन थालेको छ र अब नवयुवालाई कसरी सुरक्षित र सहमतिमा यौन सम्पर्क गर्ने भनेर सिकाउनमा बढी ध्यान केन्द्रित गराइएको छ । ठिक यसैगरी नवयुवालाई सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्न मद्दत गर्न, यसले निम्त्याउने जोखिम व्यवस्थापन गर्न र यसले प्रदान गर्ने लाभको अनुभव गर्न थप सकारात्मक दृष्टिकोण आवश्यक छ ।
र, यो दृष्टिकोण सबै किसिमका पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । यसले प्रविधिलाई बहुमुखी ढंगले व्यवहार गर्नुपर्छ भन्ने सिकाउँछ, जसले यसको फाइदा र बेफाइदा दुवैलाई स्वीकार गर्छ । र, यो डिजिटल विश्वमा सुरक्षित रूपमा सहभागिता जनाउन र नवयुवालाई आफ्नो सामाजिक सञ्जाल फिडका पछाडि के भइरहेको छ भनेर राम्रोसँग बुझ्न आवश्यक पर्ने सीप र तिनलाई सशक्त बनाउने प्रतिबद्धतामा आधारित हुनुपर्छ ।
बालबालिका एवं अभिभावकका लागि विशेष कक्षा आवश्यक स् विद्यालयले विशेष कक्षा प्रदान गरेर सामाजिक सञ्जाल साक्षरता सुधार गर्न सक्छन् । यी कक्षा त्यतिवेला नै उपलब्ध गराउनुपर्छ, जब बालबालिकाले सामान्यतया फोनमा पहुँच पाउँछन्, अर्थात् प्राथमिकस्तरमै उपलब्ध गराउनुपर्छ ।
सामाजिक सञ्जाल साक्षरतालाई गणित, विज्ञानजस्ता अन्य विषयसँगै अध्यापन गरिँदा यो उपेक्षामा पर्ने जोखिम हुन्छ । युवाकालका लागि आवश्यक शिक्षा सुरु हुनुअगाडि नै जिम्मेवार डिजिटल बानी स्थापित हुन आवश्यक छ । बालबालिकाका लागि उपलब्ध गराइने कक्षाका अतिरिक्त विद्यालयले आफ्ना बालबालिकालाई अनलाइन मार्गदर्शन गर्ने मामिलामा अन्योलमा रहने अभिभावकका लागि पनि सामाजिक सञ्जाल साक्षरता कक्षा प्रस्ताव गर्नुपर्छ ।
उसो त धेरै विद्यालयले वार्षिक साइबर सुरक्षा छलफल चलाउँछन् र यी छलफलमा प्रायः इन्टरनेटका खतराका उही चेतावनी दोहो¥याइन्छन्, जसले अभिभावकलाई असहाय र निरुत्साहित महसुस गराउँछ । सामाजिक सञ्जाल साक्षरता र यसको सकारात्मक प्रयोगबारे अभिभावकलाई राम्रोसँग शिक्षित गर्नाले तिनलाई आफ्ना बालबालिकालाई मार्गनिर्देशन गर्न मद्दत गर्नेछ । सामाजिक सञ्जाल र हामीले यसको प्रयोग गर्ने तरिकामा धेरै तह छन् ।
तसर्थ, अभिभावकका लागि उपलब्ध गराइने शिक्षामा यी तहका विशेषज्ञ अर्थात् तथ्यांक वैज्ञानिक, समाजशास्त्री, विक्रेता, भिडियोग्राफर, मानव व्यवहार अनुसन्धानकर्ताजस्ता विशेषज्ञको ज्ञान प्रयोग गर्न आवश्यक छ । तर, विद्यालय एक्लैले यो महत्वपूर्ण काम गर्न सम्भव छैन । यदि सरकारले बालबालिकालाई अनलाइन सुरक्षित राख्न हरसम्भव प्रयास गर्न चाहन्छ भने तिनलाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउनुभन्दा अन्य धेरै काम गर्न आवश्यक छ । सरकारले राम्रो सामाजिक सञ्जाल साक्षरता कार्यक्रमका लागि यसको विकास र यसमा लगानी गर्न आवश्यक छ ।
(ओर्लान्डो वेस्टर्न सिड्नी विश्वविद्यालयकी डिजिटल लिटरेसी र डिजिटल वेलबिइङकी अनुसन्धाता हुन्)
द कन्भर्सेसनबाट ( नयाँ पत्रिका दैनिकबाट )
