बुढानीलकण्ठमा । मैले कांग्रेस संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन, चित्त त बुझाउन सकिनँ । तर, अब पनि कांग्रेसबाट पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था आउन दिनुहुँदैन । म फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु । सके बदल्छु, नसके मेरै पुस्ताको अर्कोलाई प्रधानमन्त्री बनाउन लाग्छु ।
३० असार, विराटनगरमा ः दलको नेता परिवर्तनको प्रयास निरन्तर छ ।
साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुनेछ । विधानले पनि दलको नेता परिवर्तन गर्न स्थान दिएको छ । पार्टीभित्र पटक–पटक प्रयोग भएर नेता परिवर्तन भएका उदाहरण छन् । ३१ असार, संसद् भवन परिसरमा स् संसदीय दलको नेताका लागि मैले कुरिराख्नु वा कतिवेला मौका आउला भनेर हेरिराख्नु स्वाभाविक होइन । त्यो मैले गर्नैपर्छ । यो सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो ।
संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो । सात महिनाअघि मात्रै सभापति शेरबहादुर देउवासँग भारी मतान्तरले पराजित कांग्रेस महामन्त्री गगन थापाले पुनः संसदीय दलको नेतृत्व लिने आकांक्षा देखाएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन झनै प्रतिकूल बन्दै गएका वेला उनले निरन्तर दलको नेतृत्व हेरफेरको मुद्दा उठाइरहेका छन्, जसबारे पार्टीभित्र चासो छ ।
संसदीय दलको नेतृत्व परिवर्तनको मुद्दा उठाएर महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकपूर्व आफूलाई केन्द्रमा उभ्याएका छन् । देशलाई आफ्नो पुस्ताको नेतृत्व आवश्यक रहेकाले सके आफैँ दलको नेता बन्ने नभए आफ्नै पुस्ताको अरूलाई बनाउन पहल गर्ने उनको भनाइ छ । अहिलेको सत्तागठबन्धनले चित्त बुझ्ने गरी काम नगरेकाले गठबन्धन परिवर्तनको विषय पनि उनले उठाइरहेका छन् । महामन्त्री थापाले पछिल्लो एक सातामा संसदीय दलको नेता परिवर्तनको विषय तीनपटक उठाएका छन् ।
सभापति देउवानिकट नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने संसदीय दलको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउँछन् । ‘यसअघि पनि संसदीय दलको नेताको निर्वाचनमा गगनजी लड्नुभएकै हो । तर, परिणाम उहाँको पक्षमा देखिएन । अहिले पनि नेता परिवर्तनका लागि त उहाँले आवश्यक मत जुटाउन सक्नुपर्यो नि । त्यस्तो अवस्था तयार भएको देखिँदैन । तैपनि उहाँले किन यो विषय उठाइरहनुभएको उहाँलाई नै थाहा होला,’ उनले भने ।
तर, महामन्त्री थापानिकट नेता भने उनका पछिल्ला अभिव्यक्ति र प्रतिक्रिया रणनीतिक रहेको बताउँछन् । केन्द्रीय सदस्य मधु आचार्यका अनुसार थापाको अभियान नेतृत्वको असक्षम कार्यशैली परिवर्तन गर्न मनोवैज्ञानिक दबाब हो । ‘संसदीय दलको नेता परिवर्तन गर्ने विषय नेतृत्वको असक्षम कार्यशैली र सरकारमा सहभागी भएर पनि डेलिभरी दिन नसकेको कांग्रेसलाई परिवर्तन गर्न मनोवैज्ञानिक दबाब हो । यस्तै अवस्था रहिरहन्छ र हिजोकै परिणाम रहिरहन्छ भनेर बुझ्न हुँदैन । राजनीतिमा अनेक सम्भावना रहन्छन्,’ उनले भने ।
सभापति देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न थापाले अहिले दलको नेता परिवर्तनको मुद्दा उठाएको एक कांग्रेस नेताको दाबी छ । दलको नेता भए आफैँ प्रधानमन्त्री बन्न सकिने उनको विश्वास छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । सोहीकारण उनी संसदीय दलको नेता बन्ने प्रयत्नमा छन् । अहिलेको गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति छ । अर्थात् पुष्पकमल दाहाल प्रचण्डपछि सरकारको नेतृत्व देउवाकहाँ जानेछ । तर, त्यसअगाडि नै थापा वर्तमान गठबन्धनको विकल्पका लागि समेत तयार छन् । स्रोतका अनुसार थापा अहिलेको गठबन्धन भत्काउन सके स्वीकार्य प्रधानमन्त्रीका रूपमा आफूलाई उभ्याउन सकिने योजनामा छन् ।
९ असारमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने फेर्ने कुरा नौलो नहुने बताएका थिए । उनले पार्टीमा सुधारका लागि पात्रमा समस्या भए पात्र र प्रवृत्तिमा समस्या आए प्रवृत्ति परिवर्तन गरेर अघि बढ्नुपर्ने समय आएको र आफू लागिपरेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यसले प्रश्न उब्जाएको छ– ‘के गगनले संसदीय दलको नेताका लागि तयारी गरिरहेका छन् रु’ तर, थापानिकट नेताका अनुसार उनले बाहिर प्रतिक्रिया जनाएजसरी आन्तरिक तयारी भने थालेका छैनन् ।
तत्कालका लागि थापाले पार्टी र जनस्तरमा सन्देश प्रवाह गर्ने रणनीतिअन्तर्गत दलको नेता बदल्ने मुद्दा उचालेका छन् । उनले ४ मंसिरको निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । निर्वाचित संसदीय दलको नेतामा लड्ने थापाको अडानले महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि एकठाउँमा उभ्याएको थियो ।
२३ असारमा बुढानीलकण्ठमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्न लाग्ने र सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लागिपर्ने बताएका थिए । पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था अन्त्य गर्नुपर्ने उनको जोड थियो । थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशकोे आवश्यकता रहेको बताएका थिए । ‘मैले कांग्रेस संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन, चित्त त बुझाउन सकिनँ । तर, अब पनि कांग्रेसबाट पूर्वप्रधानमन्त्री मात्रै प्रधानमन्त्री बन्ने अवस्था आउन दिनुहुँदैन । म फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु । सके बदल्छु, नसके मेरै पुस्ताको अर्कोलाई प्रधानमन्त्री बनाउन लाग्छु,’ उनले भनेका थिए ।
शनिबार ३० असारमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग पनि उनले साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताएका थिए । ‘दलको नेता परिवर्तनकोे प्रयास निरन्तर छ । साथ र संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुनेछ । विधानले पनि दलको नेता परिवर्तन गर्न स्थान दिएको छ । पार्टीभित्र पटक–पटक प्रयोग भएर नेता परिवर्तन भएका उदाहरण छन्,’ थापाले भनेका छन् ।
आइतबार पनि थापाले यस विषयमा आफ्नो अडान दोहोर्याए । संसद् भवनमा उनले कांग्रेसमा दलको नेता परिवर्तनको उदाहरण रहेको जिकिर गरे । ‘संसदीय दलको नेताका लागि मैले कुरिराख्नु वा कति वेला मौका आउला भनेर हेरिराख्नु स्वाभाविक होइन । त्यो मैले गर्नैपर्छ । यो सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो,’ थापाले भने ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले महामन्त्री थापाको पछिल्लो अभिव्यक्तिलाई जनता र कार्यकर्ताको विश्वास जित्ने र कांग्रेसबाटै विकल्प छ भन्ने सन्देश दिन चाहेको रूपमा विश्लेषण गर्छन् । संसदीय दलको निर्वाचनबाट नै थापाले सभापति देउवा पटकपटक प्रधानमन्त्री बनेर जनअपेक्षाअनुसार डेलिभरी गर्न नसकेको कारण देखाउँदै विकल्पको रूपमा आफूलाई अघि सारेको र नयाँ आशा दिन खोजेको दाबी गर्छन् ।
‘संसदीय दलको नेता परिवर्तन गरेर कांग्रेसबाटै नयाँ भिजन भएको प्रधानमन्त्री दिनुपर्छ भनेर निर्वाचनमा जानुभएको थियो । तर, दलको चुनावमा पराजित हुनुभयो । अहिले पनि उहाँ संसदीय दलको नेता परिवर्तन गरेर नयाँ पुस्ताको विकल्प दिने प्रयत्नमा नै देखिनुहुन्छ,’ शर्माले भने, ‘पार्टी र जनस्तरका आक्रोश र वितृष्णा कम गर्न कांग्रेसले नै विकल्प दिन्छ भनेर जनता र कार्यकर्ताको विश्वास जित्ने तथा नयाँ आशाको सन्देश दिने दृष्टिकोणले उहाँको अभिव्यक्ति आएको देखिन्छ,’ उनले भने ।
थापा दलको नेतृत्व परिवर्तनको विषय २ साउनबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पनि उठाउने तयारीमा छन् । यसका लागि उनले अनलाइनमार्फत नेता–कार्यकर्ताका सुझावसमेत संकलन थालेका छन् । सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । देउवाले दिउँसो ३ बजे धुम्बाराहीमा छलफल राखेका छन् । छलफलमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल हुन लागेको हो । बैठकको एजेन्डा भने मंगलबार बिहान सभापति र महामन्त्रीद्वय बसेर टुंगो लगाउनेछन् ।
४ मंसिरको निर्वाचनबाट कांग्रेस ८९ सांसदसहित पहिलो पार्टी बन्यो । ६ पुसमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन भयो । महामन्त्री थापा सभापति देउवासँग संसदीय दलको नेतामा पराजित बने । देउवाले ६४ र महामन्त्री थापाले २५ मत पाएका थिए । दलको नेता निर्वाचनमा पराजित भएपछि थापाले संसदीय दलको नेता हुने प्रयत्नमा लागिरहने बताएका थिए । ‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु ।
मेरो प्रयास त्यसकै लागि रहन्छ । म महामन्त्री छु, महामन्त्रीको रूपमा काम गर्छु । कांग्रेसको सांसद हुँ, सांसदको रूपमा काम गर्छु । कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो, ठानिराख्छु । त्यसका निम्ति प्रयत्न गरिराख्छु । मेरा लागि यो अपेक्षाकृत परिणाम होइन,’ उनले भनेका थिए ।
कांग्रेसमा दलको नेता परिवर्तनको विकल्प के छ ?
कांग्रेस विधानको दफा ४० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने व्यवस्था छ । निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा १ मा नयाँ संसदीय दलको नेताको विकल्पका प्रावधान छन् ।
‘नेताले कार्यसमितिसमक्ष लिखित राजीनामा दिएमा, विश्वासको प्रस्ताव पारित हुन नसकेमा, अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधिसभाको सदस्य नरहेमा वा निजको मृत्यु भएमा नेताको पद रिक्त हुनेछ,’ विधानमा छ । अहिलेको अवस्थामा अविश्वासको प्रस्तावबाहेक बाटो छैनन् । विधानमा २५ प्रतिशत सदस्यले संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । तर, अविश्वासको प्रस्ताव पारित हुन ५० प्रतिशत मत चाहिन्छ । नयाँ पत्रिका दैनिकबाट…