DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कमोडिटी ठगी प्रकरण स् पक्राउमध्ये तीन पुर्पक्षका लागि जेल चलान, एक धरौटीमा रिहा


  • फाल्गुन ११, २०७९
  • 311 Views
कमोडिटी ठगी प्रकरण स् पक्राउमध्ये तीन पुर्पक्षका लागि जेल चलान, एक धरौटीमा रिहा image

काठमाडौं । फरार ४७ अभियुक्तविरुद्ध प्रहरीले वारेन्ट जारी गर्दै कमोडिटी मार्केटका नाममा तीन अर्ब रुपैयाँभन्दा धेरै ठगीमा संलग्न तीन अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छ । पक्राउमध्ये एकलाई तीन लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

जिल्ला अदालत काठमाडौंले मंगलबार गरेको आदेशपछि तीन अभियुक्तलाई कारागार र एकलाई धरौटीमा छाड्ने आदेश गरेको हो । आदेशपछि ठगी अभियोगमा पक्राउ परेका सुनसरी इटहरी– ४ पानधारेका ४१ वर्षीय सुनील श्रेष्ठ, कञ्चनपुर भीमदत्त– ७ का ३७ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भारतीय नागरिक ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रनलाई पुर्पक्षका लागि सुन्धरास्थित केन्द्रीय कारागार पठाइएको छ ।

उनीहरूसँगै पक्राउ परेकी खोटाङ बुइपा– २ की ४५ वर्षीया कञ्चन भनिने कमला श्रेष्ठलाई भने तीन लाख रुपैयाँ धरौटीमा छाडिएको छ । ‘कमोडिटी मार्केटका नाममा ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि अदालतमा थुनछेक बहस थियो । यही क्रममा अदालतले तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्‍यो । अर्को एकजनालाई भने धरौटीमा छाड्ने आदेश भयो,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंले कमोडिटी मार्केटका नाममा ठगी भएको गुनासो आएपछि डिएसपी भरतबहादुर शाहको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको थियो । अनुसन्धानपछि उनीहरूले मुलुकभरका १२ हजार दुई सय ५९ ग्राहकबाट तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४४ रुपैयाँ ठगी गरेको खुलेको थियो ।

कारागार गएका सुनील र धरौटीमा रिहा भएकी कमला मनी स्पेल इन्भेस्टमेन्ट प्रालिका सञ्चालक तथा सेयरहोल्डर हुन् । नरेन्द्र मेक्स ९मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेड० नेपाल र एचसिसी ९हिमालयन क्लियरिङ कर्पोरेसन०का कर्मचारी हुन् । त्यस्तै, भारतीय नागरिक सुरेन्द्रन मेक्स र एचसिसीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

ठगीमा सुनील, कमला, नरेन्द्र र सुरेन्द्रनबाहेक अन्य ४७ अभियुक्त पनि संलग्न छन् । उनीहरूविरुद्ध प्रहरीले वारेन्ट जारी गर्ने अन्तिम तयारी गरेको छ । जसमध्ये ४३ अभियुक्त पहिचान भइसकेका छन् । चार अभियुक्तको भने परिचय खुल्न बाँकी छ ।

प्रहरीका अनुसार मेक्सका सेयरहोल्डर बालकृष्ण उपाध्याय, दीपेन्द्रकुमार खतिवडा, नरेन्द्रबहादुर थापा, हिमाली चन्द राणा, कमलेशकुमार रतेरिया, माधवप्रसाद कोइराला र विवेक नेपाल, एचसिसीका सञ्चालक तथा सेयरहोल्डर उर्मिला श्रेष्ठ र टेकराज भट्ट पनि ठगीमा संलग्न छन् ।

त्यसबाहेक मेक्सका कर्मचारी रोशन कुइँकेल, अमित प्याकुरेल, श्यामकाजी घिमिरे, विधता पुरी, राजेन्द्र नेपाल, गीता खतिवडा, विवेक रिसाल, लक्ष्मण प्रसाद, सिकन्दर आलम, अब्दुल पुलिकल, बिजेश रामनाथ, मोहम्मद रफी कुथारतोडी पनि ठगीमा संलग्न छन् ।

ब्रोकर कम्पनी विजय कमोडिटीका सेयरहोल्डर कमलबहादुर कार्की, सिर्जना तिवारी, जेडी इन्भेस्टमेन्टका सेयरहोल्डर, राजीवप्रसाद शर्मा, सुलभ नेपाल, ज्योति खड्का, इजोन कमोडिटीका सञ्चालक राजेन्द्ररत्न तुलाधर, आनन्द देवकोटा, इम्पेरियम फाइनान्स एकेडेमीका सञ्चालक तेजस्वी शर्मा, उत्सव न्यौपाने, केएपिपी सफ्टवेयरका सञ्चालक मोहम्मद अब्दुल करिम फैसल, सूर्य कुमार पनि सोही ठगी धन्दामा संलग्न रहेका छन् ।

त्यस्तै, मनी प्लस एन्ड सेक्युरिटीका सेयरहोल्डर विष्णु शर्मा, लिमा इन्भेस्टमेन्टका सञ्चालक धीरेन्द्र सिंह, आइएफआरएस सोलुसनका सञ्चालक रामकुमार शाह र रञ्जितकुमार महतो पनि ठगी धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैविरुद्ध पक्राउ वारेन्ट जारी हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पक्राउ नपरेका ठगीमा संलग्न अभियुक्तविरुद्ध वारेन्ट जारी गर्ने तयारी भएको बताए । ‘कमोडिटी मार्केट ठगीमा चार अभियुक्त पक्राउ परेका थिए । जसमध्ये तीन पुपक्र्षका लागि जेल गएका छन् । एक धरौटीमा रिहा भएका छन् । बाँकीविरुद्ध पक्राउ वारेन्ट जारी गर्ने काम अन्तिम तयारीमा पुगेका छ । केही दिनभित्रै सबैविरुद्ध वारेन्ट जारी हुन्छ,’ उनले भने ।

सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गर्ने निर्णय
कमोडिटी मार्केटका नाममा ठगी गर्ने अभियुक्तविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा दर्ता गर्ने निर्णय भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले बताए । बिहीबार मुद्दा दर्ता गर्ने तयारी छ । ‘कमोडिटी ठगी धन्दामा संलग्न अभियुक्तको सम्पत्ति पनि छानबिन गर्नुपर्ने देखियो । त्यसैले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा दर्ता गर्ने निर्णय भएको छ ।

जतिसक्दो चाँडो उनीहरूविरुद्ध विभागमा मुद्दा दर्ता हुनेछ,’ न्यौपानेले भने । अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका नाममा देशभरबाट १२ हजार दुई सय ५९ जनालाई ठगी गरिएको छ  । जसमध्ये ६८ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

सेयरधनीले बाँडेका थिए ठगीको साढे २८ करोड
कमोडिटी ठगी धन्दाका ‘मास्टरमाइन्ड’ भारत तलिमनाडुका ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रन हुन् । धन्दा सञ्चालनकै लागि उनले नेपाली युवती तेजस्वी शर्मासँग विवाह गरे । उनका भाइ उत्सव न्यौपानेको नाममा इम्पेरियम फाइनान्स एकेडेमी नामको कम्पनी दर्ता गराए ।

कार्यालय खोले । कम्पनी रजिस्ट्रार कार्यालयबाट प्रमाणपत्र लिए । कम्पनीको नाममा पाननम्बर पनि लिए । र, हाँडीगाउँ सानोगौचरनस्थित कार्यालयमा देखिने गरी टाँसे । सोही कम्पनीको आवरणमा उनले कमोडिटी मार्केटको ठगी धन्दा चलाइरहेका थिए ।

जसलाई उनले मर्कन्टाइल एक्सचेन्ज नेपाल ९मेक्स० नाम दिएका थिए । सोही नामबाट उनले ‘मेक्स नेपाल’ नामको एप्स बनाएका थिए । ठगी धन्दा सोही एप्स प्रयोग गरी चलाउँदै आएका थिए ।

अवैध मेक्समा उनले सात नेपालीलाई सेयरहोल्डर बनाएका थिए । जसमध्ये मेक्समा बालकृष्ण खतिवडाको ९०।१२ प्रतिशत सेयर छ । कमलेशकुमार रतेरियाको पाँच प्रतिशत सेयर छ । त्यस्तै, दीपेन्द्रकुमार खतिवडाको दुई प्रतिशत, माधवप्रसाद कोइराला, नरेन्द्रबहादुर थापा र हिमाली चन्द राणाको जनही ०।८÷०।८ प्रतिशत सेयर छ ।

त्यसबाहेक मेक्समा विनोदप्रसाद नेपालको ०।४८ प्रतिशत सेयर छ । अनुसन्धान प्रतिवेदनअनुसार उनीहरूले ठगी गरिएकोमध्ये २८ करोड ६९ लाख ३० हजार दुई सय २९ रुपैयाँ दामासाहीले बाँडेर लिएका थिए ।

सुरेन्द्रनले ठगीका लागि हिमालयन क्लियरिङ कर्पोरेसन ९एचसिसी० नामको अर्को पनि अवैध कम्पनी खडा गरेका थिए । उक्त कम्पनीमा भने टेकराज भट्ट र उर्मिला श्रेष्ठलाई सेयरहोल्डर बनाएका थिए । प्रतिवेदनअनुसार एचसिसीमा भट्टको २० प्रतिशत र श्रेष्ठको ८० प्रतिशत सेयर छ । उनीहरूले पनि ठगीको रकम दामासाहीमा बाँडेर लिएका थिए । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.