भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जसले पहिरोमा सर्वस्व गुमाए


  • कार्तिक ७, २०७८
  • 482 Views
जसले पहिरोमा सर्वस्व गुमाए image

बझाङ  । दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले गडगडाइरहेको थियो ।

बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटरमाथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो । ढोगदिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनुपर्‍यो भनेर आमा, श्रीमती र केटाकेटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए ।

करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्कासि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ? गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए ।

‘आमाको औषधि र केटाकेटीको ओढ्ने लुगा पोको पारेर फर्किन के लागेका थियौं, एक्कासि ठूलो आवाजसहित पहिरो फुट्यो,’ पार्कीले भने, ‘कुहिरो र झरीको अँध्यारोमा पहिरो झर्दा खसेका ढुंगा आपसमा ठोक्किएर आगोका झिल्का उठ्न थाले । हामी दुवै भागेर पर पुग्यौं ।’

करिब २० मिनेटसम्म गड्याङगुडुङ आवाजसहित पहिरो खसिरह्यो । ढुंगा खस्न रोकिएपछि कलक र नरे घर नजिक आए । नरेको घर केही भएको रहेनछ । जुन घर सुरक्षित भनेर केही बेरअगाडि परिवार छाडेर आएका थिए, त्यो घर र वरिपरिका अरू ६ घरको नामोनिसान थिएन । उज्याले हुन्जेलसम्म आधा गाउँ नै बगर बनिसकेको थियो । कलकका परिवारका १८ र नरेका ५ गरी २३ जना बसेको घरलाई बीचमा पारेर १ किलोमिटर जति पहिरो फैलिएको थियो ।

बुधबार दिउँसो मात्रै केही सम्हालिएका नरे अब एक्लो भएका छन् । जीवनको उत्तरार्द्धमा एकै पटक सबै परिवार गुमाएर एक्लिनुको पीडा त उनको मनमा छँदै छ, बिहानै सपरिवार गगनेको घरमा नपुर्‍याएको भए कसैलाई केही नहुने रहेछ भन्ने पछुतोले उनलाई झन् विक्षिप्त बनाउने गरेको छ । ‘आफ्नै घरमा राखेको भए केही नहुने रहेछ,’ उनले रुँदै भने, ‘उता सुरक्षित होला भनेर पुर्‍याएँ, मार्न पठाए जस्तो भयो ।’

आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजाभतिजी गरी १७ जना परिवारका सदस्य गुमाएका कलक सार्कीको अवस्था झन् पीडादायी छ । छिनछिनमा बेहोस हुने उनका आँखा रुँदारुँदा राता भइसकेका छन् । ‘जे हुनु भइहाल्यो भनेर मन बुझाउने प्रयास गर्छु,’ उनले भने, ‘यस्तै देख्नका लागि म मात्रै किन बाँचे हुँलाजस्तो लाग्छ ।’

शवको सनाखत गर्ने मान्छे अरू नभएका कारण उनीहरूलाई लैजानुपर्ने भए पनि अझै विक्षिप्त अवस्थामै रहेको घटनास्थलमा उद्धारको नेतृत्व गरिरहेका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । ‘गाउँले र हामीले सम्झाइबुझाइ गरिरहेका छौं,’ उनले भने, ‘नरे र कलक मात्रै नभएर उनीहरूका आफन्तको अवस्था पनि सामान्य छैन ।’

उनीहरू अहिले आफन्तको घरमा बसिरहेको कार्कीले बताए । शनिबार साँझसम्म २३ जना बेपत्ता भएका यो परिवारका चार जनाको शव भेटिएको छ । घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

आजको कान्तिपुर दिनैकबाट…

 


Thali Mobile Pvt.Ltd.