DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वनबाट धन


  • चैत्र २, २०७८
  • 362 Views
वनबाट धन image

काठमाडौं । वनजंगल बढाउनु र बढ्नु त्यसै पनि फाइदाजनक हो। वातावरणलाई यसले असल योगदान पुर्‍याउँछ। वन बढ्यो भने भूक्षय रोकिन्छ। वातावरण स्वच्छ र सफा हुन्छ। मानव जीवन धान्ने प्राणवायु अर्थात् अक्सिजनको मात्रा वृद्धि हुन्छ। वनजंगलका स्रोतहरूमा आश्रित थुप्रै उद्यमधन्दा पनि छन्।

कृषि तथा पशुपालन व्यवसायसँग पनि यसको सोझो सम्बन्ध छ। नेपालले प्राकृतिक र ऐतिहासिक सम्पदामा जति गर्व गर्छ, आफैंले गरेको विकासका क्षेत्रमा गर्व गर्न लायक यहाँको वनजंगल हो।

नेपालको वन संरक्षण र वृद्धिमा अपनाइएको सामुदायिक वनको व्यवस्थापन विश्वमा पेस गर्न लायक नमुना हो। झन् त्यसमाथि वनजंगलको वृद्धिबाट नेपाल देशले नगदै पनि आम्दानी गर्दै आएको छ। त्यो भनेको कार्बन व्यापार हो। वनजंगलका रुखपातले सोसेर कार्बन सञ्चित गरिदिएबापत यो देशले पैसा पाउँछ, अन्तर्राष्ट्रिय संस्थाबाट।

अब सन् २०२४ सम्म ४५ अर्ब रुपैयाँ कार्बन सञ्चित गरेबापत आम्दानी गर्ने यो देशको लक्ष्य छ। लक्ष्यअनुसार काम भए त्यो असम्भव छैन। विश्व तापमानको वृद्धि र हरितगृह ग्यास उत्सर्जन कम गर्न विश्वमा कार्बन सञ्चितिको अवधारणालाई अघि सारिएको छ। कार्बन सञ्चिति गर्ने एउटै प्राकृतिक माध्यम रुख, बिरुवा र वनस्पतिहरू हुन्।

तिनको हेरचाह र संरक्षणमा नेपालले भूमिका खेल्दा कार्बन सञ्चितिमा योगदान पुगेको छ। त्यसबापत विश्व बैंकले नेपाललाई प्रतिटन कार्बन ५ डलर रुपैयाँ उपलब्ध गराउँछ। यस्तो सम्झौता नेपालले सन् २०२१ फेबु्रअरी २४ मा गरेको छ। २०१८ देखि २०२४ सम्म सञ्चित कार्बनको भुक्तानी विश्व बैंकले गर्ने सम्झौता हो।

विश्व तापमान वृद्धिको सोझो असर परेको मुलुकमध्ये एक हो, नेपाल। यो देशका हिमालहरूमा हिउँ पग्लिने क्रम बढेको छ। हिमाल, पहाड र तराईमा तापक्रम वृद्धि भएको छ। तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्न थालिसक्यो।

पहाडमा ३० डिग्री उकालो लागिरहेको छ। विश्व तापमान वृद्धि निरन्तर प्रक्रिया हो। तर, जसरी द्रुत गतिमा बढिरहेको छ, त्यसको मुख्य कारण कार्बन उत्सर्जन हो। ठूल्ठूला कलकारखाना खोल्ने, धेरै गाडी गुडाउने देशहरूकै कारण यस्तो भइरहेको छ। नेपालजस्ता गरिब देशहरू, अफ्रिकी मुलुकहरू त्यसको मारमा छन्। दुःखबीचकै सुख के भने नेपालले कार्बन सञ्चिति गरिदिएर पृथ्वीको कल्याण गरिरहेको छ।

देशको कुल क्षेत्रफलमध्ये ४५ प्रतिशत वन क्षेत्र पुर्‍याउने नेपालको लक्ष्य छ। त्यो लक्ष्य पूरा हुँदा नेपालले ४५ अर्ब रुपैयाँ प्राप्त गर्नेछ। १८ देखि २१ सालसम्मको कार्यप्रगति प्रतिवेदन बुझाएर नेपालले पहिलो किस्ता बुझ्ने प्रयास गरिरहेको छ।

सँगै बढीभन्दा बढी रुखबिरुवा वृद्धि गर्ने, भूक्षय रोक्ने, वन विनास रोक्नेलगायत कार्यक्रम पनि गरिरहेको छ।

नेपाल ठूला पूर्वाधार निर्माणमा पनि उत्तिकै अघि बढिरहेको छ। त्यसको नकारात्मक असर भनेको वन विनास हुनु पनि हो। जस्तो विमानस्थल निर्माण, द्रुतमार्ग निर्माण, राजमार्गहरूको विस्तार आदि। निजी क्षेत्रबाट पनि उद्योगधन्दा र कलकारखाना खोल्दा रुखबिरुवा काटिने गरेका छन्। यस्तो पूर्वाधार र उद्योगधन्दा निर्माण गर्दा काटिने रुखको सट्टा काटिएभन्दा धेरै अन्त रोप्नुपर्ने प्रावधान हुन्छ। तर, त्यसको निगरानी भएको पाइन्न। अर्को कुरा, बिरुवा रोप्नु मात्रै ठूलो कुरा होइन, संरक्षण गरेर हुर्काउनु महत्त्वपूर्ण हो।

नयाँनयाँ रुखबिरुवा रोपेर हुर्काउनुको अर्को फाइदा के भने नयाँ रुख हुर्कंदा नै धेरै कार्बन सोसिन्छ। तसर्थ, पूर्वाधारको गतिसँगै वातावरण संरक्षण, रुखबिरुवा वृद्धिको गतिलाई पनि उत्तिकै द्रुत पारियो भने कार्बन सञ्चितिको लक्ष्य भेट्न मद्दत पुग्छ। पुराना रुखले त त्यति कार्बन सोस्दैन। बरु कार्बन उत्सर्जनको कारण बन्न सक्छ। नयाँ बिरुवा रोप्ने र हुर्काउँदै आफ्नै वातावरण सुन्दर र स्वच्छ बनाउने हो।

त्यसमाथि कार्बन सञ्चितिको पैसा कमाइ पनि हुने हुँदा दुवै हातमा लड्डु हुने यस्तो काइदाको लक्ष्य भेट्न किन कुनै कसर बाँकी राख्नु?

स्राेतः अन्नपूर्णपाेष्ट दैनिक

 


Thali Mobile Pvt.Ltd.