काठमाडौं । कुल बेडको १० प्रतिशत इमर्जेन्सी वार्डका लागि छुट्याउनुपर्ने व्यवस्था भए पनि अधिकांश ठूला अस्पतालले पालना गरेका छैनन्, मापदण्ड पालना गरेका अस्पतालमा पनि बिरामीको चाप अत्यधिक हुँदा कुर्सी, ट्रली र भुइँमै राखेरसमेत गम्भीर बिरामीको उपचार गर्नुपर्ने अवस्था छ ।
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड ०७७, (पहिलो संशोधन)को उपचारात्मक सेवासम्बन्धी व्यवस्थाअन्तर्गत कुल बेडको १० प्रतिशत इमर्जेन्सी (आकस्मिक) वार्डका लागि छुट्याउनु पर्छ । तर, काठमाडौंका अधिकांश ठूला अस्पतालको आकस्मिक सेवा मापदण्डअनुसार बेड छैनन् ।
पाँच सय र सोभन्दा बढी बेड क्षमता भएका अस्पतालमा कम्तीमा ५० र तीन सय बेड क्षमता भएका अस्पतालमा कम्तीमा ३० बेड आकस्मिका लागि छुट्याउनुपर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै, दुई सय बेड भएका अस्पतालमा २० बेड, एक सय बेड भएका अस्पतालमा १० बेड, ५० बेड भएकामा पाँच बेड, २५ बेड भएका अस्पतालमा तीन बेड, १५ बेड भएकामा दुई र १० बेड भएकामा कम्तीमा एउटा आकस्मिक बेड राख्नुपर्ने मापदण्ड छ ।
तर, तुलनात्मक रुपमा आकस्मिक बेड कम हुँदा आकस्मिक विरामीलाई भीडभाडमै उपचार गर्नुपर्ने अवस्था छ । पाँच सय ६० बेड क्षमतामा चलिरहेको वीर अस्पतालमा आकस्मिक वार्डमा ३१ बेड मात्रै छन् जुन मापदण्डभन्दा निकै कम हो । ३१ मध्ये पनि आठ बेडलाई ‘अब्जर्भेसन’का लागि राखिएको छ । यहाँ दैनिक ७० देखि एक सय २० जनासम्म बिरामी आकस्मिक सेवाका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । बेड नहुँदा भुइँमा वा बेन्चमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ ।
त्रिवि शिक्षा अस्पतालमा कुल आठ सय ५० बेड छन् । कुल बेडअनुसार आकस्मिक सेवा कम्तिमा ८० बेडमा दिनुपर्ने हो । तर, ६० बेडमार्फत् आकस्मिक सेवा दिंदै आएको यो अस्पतालले पनि एउटै बेडमा दुई–तीन जना र कुर्सीमा समेत राखेर सेवा दिने गरेको छ । टिल खालका केसलाई ‘अब्जर्भेसन’का लागि र तत्काल उपचार गर्नुपर्ने बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी सेवा दिएको छ ।
त्रिविको आकस्मिक सेवामा दैनिक दुई सयसम्म बिरामी पुग्ने गरेका छन् । आकस्मिक वार्डको क्षमता जति बढाए पनि अत्यधिक चापका कारण धान्न गाह्रो भइरहेको अस्पताल प्रशासनले जनाएको छ । तीनवर्षीया छोरीलाई उच्च ज्वरो आएपछि कपनकी सुरक्षा चापागाईं गत शनिबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक वार्ड पुगेकी थिइन् ।
रगत र पिसाबको नमुना लिएपछि स्वास्थ्यकर्मीले दुई घण्टा पर्खिन भने । तर, आकस्मिक वार्डमा छोरीलाई राख्ने ठाउँ थिएन, ज्वरोका कारण रन्थनिएर रोइरहेकी छोरीलाई भिडभाडमा राख्न नसकेर रिपोर्ट आउने बेला आउँछु भन्दै उनी बाहिरिइन् । एउटै बेडमा दुई–तीनजना राखेर उपचार गरिरहेको देखेपछि उनी बाहिर निस्किएकी थिइन् । बालबालिका मात्रै होइन, आकस्मिक वार्डमा वृद्धवृद्धासमेत एउटै बेडमा कोचिएर बस्न बाध्य थिए ।
बालबालिकाका लागि देशकै ठूलो केन्द्रीय अस्पताल कान्ति बालअस्पतालमा कुल तीन सय २५ बेड छन् । तर, यो अस्पतालले पनि मापदण्डअनुसार इमर्जेन्सी बेडको व्यवस्था गरेको छैन । मापदण्डअनुसार कम्तिमा ३० बेड हुनुपर्नेमा २५ बेड मात्रै छन्, यो पनि पछिल्लो समय सुधार गरेर पु¥याएको हो । खासगरी सिजनल फ्लुको समयमा कान्तिमा भिडभाड थेगिनसक्नु हुन्छ ।
अर्को ठूलो अस्पताल ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कुल बेडअनुसार इमर्जेन्सी बेड छैनन् । ६ सय ५० बेड क्षमताको यो अस्पतालको आकस्मिक वार्डमा ३५ मात्रै बेड छन् । मापदण्डअनुसार कम्तिमा ६५ बेड हुनुपर्ने हो । आकस्मिक वार्ड सधैं भरिभराउ हुने गरेको बताउँछन् अस्पताल निर्देशक डा। रवि शाक्य । उनका अनुसार दैनिक एक सय ५० भन्दा बढी बिरामी आकस्मिक उपचारका लागि पुग्छन् ।
नेपाल प्रहरी अस्पतालमा पनि मापदण्डअनुसार आकस्मिक बेड छैनन् । चार सय ५० बेडको यो अस्पतालको आकस्मिक कक्षमा ३० बेड मात्रै छन् । दैनिक ५० देखि सय जनासम्म बिरामी इमर्जेन्सीमा आउने गरेको डा। सञ्जयविक्रम श्रेष्ठले बताए । उनले भने, ‘प्रहरी संगठनभित्रका बिरामीलाई अन्यन्त्र पठाइँदैन, साथै बाहिरबाट पनि अत्यावश्यक सेवाका लागि आउने गर्छन, यसकारण सधैँ भिड लाग्छ ।’
स्त्री तथा प्रसूतिसम्बन्धी देशकै ठूलो ‘रिफरल सेन्टर’ परोपकार प्रसूतिगृहमा समेत बिरामीको चाप थेगिनसक्नु हुन्छ । विशेषतः काठमाडौंबाहिरबाट जटिल खालका केसहरू ‘रिफर’ भएर आउने भएकाले यहाँको आकस्मिक कक्ष सधैँ भरिभराउ हुन्छ । कुल सात सय १५ बेडको अस्पतालमा प्रसूति सर्भिस बेड अर्थात् जाँचका लागि ६ बेड छुट्याइएको छ ।
यसबाहेक नौ बेड आकस्मिकमा राखिएको छ । औसतमा दैनिक ६० देखि ६५ बिरामी पुग्ने प्रसूतिको आकस्मिक वार्ड सधैँ भरिभराउ रहन्छ । कतिपय अवस्थामा एउटै बिरामीलाई घण्टौँसम्म इमर्जेन्सीमै राख्नुपर्ने हुँदा अन्य बिरामी मारमा पर्ने स्वास्थ्यकर्मी बताउँछन् । कुल दुई सय बेड रहेको ट्रमा सेन्टरले भने मापदण्ड पालना गरेको छ । ३४ बेडमार्फत् आकस्मिक सेवा दिंदै आएको यो अस्पतालमा बिरामीको भीड अत्यधिक हुने भएकाले उपचारमा भने समस्या छ ।
आकस्मिक अवस्थाका बिरामी धेरै पुग्ने अस्पताल भएकाले यहाँ ट्रली, बेन्च र भुइँमासमेत राखेर सेवा दिने गरिएको छ । आकस्मिकमा मात्रै दैनिक पाँच सयदेखि ६ सय बिरामी आउने गरेको ट्रमा सेन्टरका निर्देशक डा। प्रमोदकुमार यादवले बताए । ‘दैनिक ५० भन्दा बढी सर्जिकलका हुन्छन् । यसबाहेक दुर्घटनाबाट आएका र अन्य रोग लिएर आउने बिरामीको चाप थेगिनसक्नु छ,’ उनले भने, ‘आकस्मिक वार्ड थप्ने तयारीमा छौँ । तर, भवन साँघुरो भएकाले सम्भव भइरहेको छैन ।
नजिकैका भवन भाडामा लिएर थप ३५ बेड चलाउन सकिन्छ कि भनेर छलफल चलिरहेको छ ।’ घटना गत शनिबारको हो । कालीमाटीमा मोटरसाइकल दुर्घटनामा परेका दुईजनालाई ट्रमाको आकस्मिकमा ल्याइएको थियो । तर, आकस्मिकका बेड खाली नभएकाले उनीहरूलाई राख्ने ठाउँ नै भएन । वार्डमा रहेका गार्डहरूले एउटा ट्रली ल्याए र एउटा घाइतेलाई रेड जोनतिर दौडाए ।
अर्को बिरामी राख्न ट्रलीसमेत थिएन । टाउकोबाट रगत बगिरहेकाले तत्काल उपचार गर्नुपर्ने भन्दै नर्सहरूले भुइँमा म्याट्स ओछ्याए । स्लाइनको बोतल आफन्तको हातमा थमाइदिएर घाउ सफा गर्नतिर लागे । राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक वार्डमा सधैँजसो देखिने दृश्य हो यो । विशेष गरी दुर्घटनाका घाइतेले खचाखच रहने ट्रमा अस्पतालमा कुल बेडको क्षमताअनुसार आकस्मिक वार्ड डिजाइन गरिए पनि अत्यधिक चापलाई आकस्मिक वार्डले धान्दैन ।
दुई सय ९६ बेड क्षमतामा सञ्चालित गंगालाल हृदय केन्द्र पनि मापदण्डअनुसार आकस्मिक बोडको व्यवस्था गरेको छ । आकस्मिक वार्डमा ३४ बेड रहेको यो अस्पतालमा पर्याप्त बेड संख्या भए पनि सधैँ व्यस्त रहन्छ । गंगालालमा प्रत्येक दिन ७० जति बिरामी आकस्मिक उपचारमा पुग्ने गरेको अस्पतालको भनाइ छ ।
सिभिल अस्पतालले पनि कुल बेड संख्याअनुसार आकस्मिक बेडको व्यवस्था गरेको छ । कुल तीन सय बेड रहेको यो अस्पतालको आकस्मिक कक्षमा ३० बेड छन् । तर, क्षमताभन्दा बढी बिरामीको भीड लाग्ने भएकाले बेन्चमासमेत राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । ‘जसोतसो व्यवस्थापन भइरहेको छ,’ डा। विदेश विष्ट भन्छन्, ‘स्वास्थ्य परीक्षणपश्चात् वार्डमा सार्ने वा सामान्य उपचारपछि डिस्चार्ज हुने बिरामी धेरै हुने भएकाले ठूलो समस्या छैन ।’
एक सय ५७ बेडको भक्तपुर अस्पतालमा पनि इमर्जेन्सी बेडको संख्या मापदण्डमै छन् । तर, बिरामीको चाप नै बडी छन् । ६ ‘अब्जर्भेसन’सहित २१ बेडमा चलिरहेको भक्तपुर अस्पतालको आकस्मिक वार्डले बिरामीको भिड कष्टपूर्ण तरिकाले धानिरहेको छ । यहाँको आकस्मिक वार्डमा दैनिक ५० देखि ७० जनासम्म पुग्छन् । ‘कहिलेकाहीँ त बेन्चमा राखेर सेवा दिनुपर्ने अवस्था आउँछ,’ डा। सुमित्रा गौतम भन्छिन्, ‘१० वटा बेडबाट बढाएर २१ वटा बनाइएको हो, तर कहिलेकाहीँ बेड पुग्दैन ।’
कुल सय बेडको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले मापदण्डअनुसार २० बोर्ड आकिस्मक वार्डमा छुट्याएको छ । तर, सरुवारोग अस्पताल भएकाले इमर्जेन्सी वार्ड सधैं भरिभराउ हुन्छ । कोभिड महामारी फैलिएसँगै आकस्मिक वार्डको क्षमता बढाएको टेकुले अहिले २० बेड राखेर सेवा दिँदै आएको छ । संक्रमण फैलिएका वेला अस्पतालले वैकल्पिक आकस्मिक कक्ष वा छिँडीमा बेड राखेरसमेत सेवा दिँदै आएको छ ।
सेवा–सुविधाको अभाव
एकातिर आकस्मिक वार्डहरूमा मापदण्डअनुसार बेड नहुँदा बिरामी व्यवस्थापनमा समस्या भइरहेको छ भने अर्कोतिर अन्य आवश्यक सुविधा नहुँदा भएकै बेड पनि प्रभावकारी बन्न सकेका छैनन् । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार आकस्मिक कक्षबाट अल्ट्रासाउन्ड, एक्स–रे, इमर्जिङ सेवा, प्रयोगशाला, ओपिडी, ओटी तथा अन्य सेवामा सजिलै बिरामी ल्याउने–लैजाने, आपत्कालीन सवारीसाधन इमर्जेन्सी वार्डनजिकै ल्याउन मिल्ने, आकस्मिक सेवाका लागि छुट्टै कक्ष र २५ बेडभन्दा कम क्षमतामा स्वास्थ्यकर्मी, ५० वा सोभन्दा माथिमा २४सै घण्टा सेवा उपलब्ध हुनुपर्छ ।
यसबाहेक सम्बन्धित विषयको चिकित्सक अनकलमा उपलब्ध हुने, आवश्यक औषधि र उपकरण २४सैँ घण्टा उपलब्ध हुनुपर्ने, आकस्मिक विभागका लागि छुट्टै शल्यक्रिया कक्ष, शुद्ध खानेपानी र पर्याप्त पानीसहितको शौचालय र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला हुनुपर्ने व्यवस्था छ । अधिकांश ठूला अस्पतालमा यी सुविधा छैनन् । नयाँ पत्रिका दैनिकबाट…
