महेन्द्रनगर आँखा अस्पतालमा उपचारको गुणस्तरले भारतीय बिरामी आकर्षित

महेन्द्रनगर आँखा अस्पतालमा उपचारको गुणस्तरले भारतीय बिरामी आकर्षित

मुख्य बुँदा

महेन्द्रनगर आँखा अस्पतालमा सेवाग्राहीको चाप बढ्दो

गुणस्तरीय र सस्तो सेवा हुँदा भारतीय बिरामीहरू पनि उपचारका लागि आउँने 

आर्थिक वर्ष २०७८/८२ मा २४,७८० जनालाई आँखा सेवा दिइयाे

मोतियाविन्दुका ६३४ जनाको शल्यक्रिया

अस्पतालले ५,४१३ जनालाई चस्मा वितरण

दैनिक ११५–१२० जना बिरामी उपचारका लागि आउँछन्, जसमा १,६६७ भारतीय नागरिक 

अस्पतालले विद्यालय र दुर्गम क्षेत्रमा आँखा शिविरहरू सञ्चालन

नयाँ भवन निर्माणका लागि स्थानीय सरकारसँग आग्रह

भाइरल आँखा संक्रमण बढ्दै गएकोले सावधानी अपनाउन सुझाव 

कञ्चनपुर, २५ साउन । महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ। उत्कृष्ट र सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भएका छन्। अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ। उक्त अवधिमा मोतियाविन्दु भएका ६३४ जनाको शल्यक्रिया गरिएको छ भने ५ हजार ४१३ जनालाई चस्मा वितरण गरिएको अस्पतालले जनाएकाे छ ।

स्वदेशी वा विदेशी भनेर कुनै विभेद नगरी सबैलाई समान शुल्क लिएर समान व्यवहार गरिएकाले अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको र अस्पतालमा सेवा लिनेमा १ हजार ६६७ जना भारतीय नागरिक रहेकाे अस्पताल स्राेतले जनाएकाे छ । मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चस्मा लाग्ने, परेला फर्केका बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ।

जटिल प्रकृतिका बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गरिँदै आएको छ। हाल दैनिक अस्पतालमा ११५ देखि १२० जना बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीबाट लिने शुल्क बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम क्षेत्रमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ।

६ वटा विद्यालयस्तरीय शिविरमार्फत १ हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट ३ हजार ९०० जनाले सेवा लिएका छन्। बिसं. २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा १० शय्याको आँखा अस्पतालमा स्तरोन्नति गरिएको हो।

भवन पुरानो भएपछि शल्यक्रिया गर्न अप्ठेरो भएपछि नयाँ भवन निर्माणका लागि स्थानीय निकाय र प्रदेश सरकारसँग आग्रह गरिएको छ। वायु प्रदूषणका कारण भाइरल आँखाको सङ्क्रमण बढेको उल्लेख गर्दै सर्वसाधारणलाई दैनिक सफा पानीले आँखा सफा राख्न, घरभन्दा बाहिर निस्कँदा क्याप टोपी र कालो चस्मा लगाउन डाक्टरहरूले सल्लाह दिएका छन्। आँखा सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्ने उनीहरूको भनाइ छ।

नेपाल नेत्रज्योति सङ्घ, विसं. २०३५ मा स्थापना, नेपालकै अग्रणी गैरसरकारी संस्था हो जसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। यसले २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने ३ लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.