एजेन्सी । इरानमाथि अमेरिका–इजरायल युद्धको १४ दिनको अवधिमा करिब ५० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन भएको एक प्रतिवेदनले देखाएको छ । यो मात्रा कम कार्बन उत्सर्जन गर्ने विश्वका ८४ देशको कुल उत्सर्जनभन्दा बढी रहेको बताइएको छ ।
‘क्लाइमेट एन्ड कम्युनिटी इन्स्टिच्युट’ को प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती दैनिक पत्रिका गार्जियन ले जनाएअनुसार युद्धका कारण वातावरणीय प्रभाव गम्भीर बनेको छ । प्रतिवेदनले यस द्वन्द्वलाई जलवायुका लागि ठूलो विपत्तिका रूपमा चित्रण गरेको छ ।
प्रतिवेदनअनुसार युद्धका क्रममा प्रयोग भएका विमान, जहाज तथा अन्य सैन्य सवारीसाधनहरूले मात्र १४ दिनमा करिब १५ करोडदेखि २७ करोड लिटरसम्म इन्धन खपत गरेका छन् । साथै, सैन्य उपकरणहरूको क्षतिले समेत कार्बन उत्सर्जनमा वृद्धि गरेको उल्लेख छ ।
सबैभन्दा धेरै उत्सर्जन नागरिक पूर्वाधारमा भएको क्षतिबाट भएको बताइएको छ । इरानको राहत तथा उद्धार एजेन्सी ‘रेड क्रिसेन्ट’ का अनुसार आक्रमणका क्रममा झन्डै २० हजार भवनहरू क्षतिग्रस्त भएका छन् । लडाकु विमान, बमवर्षक विमान तथा नौसेनाका जहाजहरूको निरन्तर सञ्चालनले ऊर्जा खपत बढाएको विज्ञहरूको भनाइ छ । साथै, इरानको राजधानी तेहरान तथा अन्य क्षेत्रमा रहेका ऊर्जा संरचनाहरूमा भएका आक्रमणहरूले पनि उत्सर्जन वृद्धि गर्न योगदान पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, यी आक्रमणका क्रममा करिब २५ लाखदेखि ५९ लाख ब्यारेल तेल नष्ट भएको जनाइएको छ । प्रतिवेदनले कुल ५० लाख ५५ हजार १६ टन कार्बनडाइअक्साइड उत्सर्जन भएको उल्लेख गर्दै यो उत्सर्जन कुवेत वा आइसल्यान्डजस्ता देशहरूको वार्षिक उत्सर्जन बराबर रहेको बताएको छ ।