भर्खरै : Sorry, your browser does not support inline SVG.

कार्यविधि विपरीत वीर अस्पतालमा मन्त्रीले राखे आफ्नै जिल्लाका १० सहित १३ कर्मचारी

कार्यविधि विपरीत वीर अस्पतालमा मन्त्रीले राखे आफ्नै जिल्लाका १० सहित १३ कर्मचारी

काठमाडौं । कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको आफ्नै गृहजिल्ला सिन्धुपाल्चोकका रहेका छन् ।
कात्तिक १० गते वीर अस्पताल प्रशासनले सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहकै लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना करारमा राख्ने निर्णय गरेको थियो ।

तर ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७६’ विपरीत १७ कात्तिकमै सबै कर्मचारी भर्ना गरेको पाइएको छ । करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ । तर एक हप्ताको सूचना निकालियो र दरखास्त बुझाउने अन्तिम दिन १७ गते केही समय मात्रै सर्जिकल भवनमा टाँसिएको थियो ।

वीर अस्पतालका एक अधिकारीले भने, ‘सार्वजनिक रुपमा जानकारी नदिई केहीबेर मात्रै टाँसिएको जस्तो गरियो ।’ १९ गते कर्मचारी छनोटको लिस्ट सार्वजनिक भयो । करारमा राखिएका १३ जनामध्ये १० जना सिन्धुपाल्चोक जिल्लाका रहेका छन् । लिफ्ट असिस्टेन्टमा सिन्धुपाल्चोक बाह्रबिसेका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपालकी विमला अधिकारी, लिसंखु पाखरकी अन्जली तामाङ छन् ।

यसैगरी इलेक्ट्रिसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौ तहको ल्याब टेक्निसियनमा मेलम्चीकी रस्मीता मिश्र, रुद्रमतीकी प्रमिला आचार्य, बाह्रबिसेका सन्तोष राउत छन् । मेडिकल ल्याब टेक्निसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मीता थापा नियुक्त भएकी छन् । तीन जना मात्रै अरु जिल्लाका परेका छन् ।

ल्याब टेक्निसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ र रसुवाकी स्मृति देवकोटा तथा पलम्बर पदमा बनेपा, काभ्रेका सुरेन्द्र दंगाललाई राखिएको छ । करार कर्मचारी छनोट समितिमा अस्पतालका निमित्त निर्देशक डा. श्रवण थापालाई संयोजक बनाइएको थियो ।

स्वास्थ्यमन्त्री बस्नेतले दबाबमा उनीहरुलाई नियुक्त गर्न लगाएको स्रोतले बताएको छ । फर्म तथा शुल्क लिएर राजस्व समेत दाखिला नगरेको पाइएको अस्पताल स्रोतले जनाएको छ । वीर अस्पतालले मंसिर १ गते मेडिकल अधिकृत ३० र स्टाफ नर्स २६ जना माग गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.