मुस्ताङ । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ ।
सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटकले मुस्ताङ भ्रमणमा आएको एक्यापका प्रमुख पदमराज रेग्मीले बताए ।
सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए ।
कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कराष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् ।
दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएको एक्याप प्रमुख रेग्मीले बताए । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ ।
एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् ।
मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको हो । म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् ।
मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय यसक्षेत्रमा पर्यटक आगमन अधिक बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए ।