भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन

भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन

भक्तपुर, १६ कात्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय कलात्मक उत्पादनको प्रवर्द्धन, प्रोत्साहन र विकास गर्ने उद्देश्यले आयोजना गरिएको एकहप्ते सेरामिक्स कार्यशालाको उद्घाटन गर्नुभएको छ । नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीको आयोजनामा सुरु भएको कार्यशालाले परम्परागत सिरामिक्स कलालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोड्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेरामिक्स कलाको राम्रो सम्भावना बोकेको देशकै महत्वपूर्ण स्थान भक्तपुर भएको बताउनुभयो । परम्परागत सीपलाई आधुनिकतासँग जोडेर अगाडि बढाउन नसके मौलिक कला र सीप ओझेलमा पर्न सक्ने उहाँको भनाइ थियो । प्लास्टिकका सामग्रीले माटाका भाँडाको स्थान लिँदै जाँदा परम्परागत पेसामा आबद्ध व्यक्तिहरूको रोजगारी गुम्ने जोखिम बढेको उल्लेख गर्दै उहाँले युवालाई सेरामिक्स क्षेत्रमा आकर्षित गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

विदेशबाट हुने सेरामिक्स सामग्रीको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोडेर अगाडि बढाउन सके यस क्षेत्रको विकाससँगै स्थानीय सीपको संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले युवामा आफ्नै देशभित्र सम्भावना खोज्नुभन्दा परनिर्भर सोच बढ्दै गएको बताउनुभयो । आफूमा भएको सीप र क्षमताको सदुपयोग गरी परिवार तथा समाजका लागि महत्वपूर्ण योगदान दिन सकिने उहाँले उल्लेख गर्नुभयो । आफ्नो सीप र रुचिसँग सम्बन्धित कामलाई निरन्तरता दिँदै अगाडि बढे दक्षता विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीका अध्यक्ष रमेश प्रधानले कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै परम्परागत सेरामिक्स कलालाई आधुनिकतासँग जोड्ने, आधुनिक कलाको विकास गर्ने तथा कला र संस्कृतिसँग सम्बन्धित गतिविधिलाई अघि बढाउने लक्ष्य रहेको बताउनुभयो । नयाँ कलाकारलाई सीप सिकाउँदै सिर्जनशील कार्यमा प्रेरित गर्नु कार्यशालाको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.