धादिङ, १६ कार्तिक । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको धादिङस्थित मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने कामका लागि सवारी आवागमन तीन घण्टा बन्द गरिएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरेर गर्डर राख्ने काम सुरु गरिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले सडक बन्द रहने अवधिमा सवारी चालक तथा यात्रुलाई धैर्यपूर्वक यथास्थानमा रहन आग्रह गरेको छ ।
साथै, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न पनि आयोजनाले अनुरोध गरेको छ । आकाशे पुल निर्माणको कामलाई सुरक्षित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोकिएको हो ।
