भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु

भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु

एजेन्सी । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टर प्रयोग गरी गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्दै आएको गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाका अनुसार आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट थप १० जनाको शव सान फर्नान्डो पुर्‍याइएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले उक्त कारबाहीमा अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईको सहयोग रहेको दाबी गरेको छ ।

ती स्रोतले आक्रमण अमेरिकी आदेशमा भएकोसमेत बताएका छन् । तर, यस दाबीबारे अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया दिएका छैनन् । भेनेजुएला र कोलम्बियाबीचको करिब दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन तथा अन्य तस्करीमा संलग्न सशस्त्र समूह सक्रिय छन् ।

सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन ल्याटिन अमेरिकाको शक्तिशाली विद्रोही समूहका रूपमा रहँदै आएको छ । मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणले भेनेजुएलाको सैन्य नीतिमा परिवर्तन आएको सङ्केत गरेको बताउनुभएको छ । सीमावर्ती क्षेत्रमा अन्य विद्रोही शिविरसमेत रहेको आशङ्कामा खोजी अभियान जारी राख्ने सैन्य स्रोतले जनाएको छ ।

अमेरिकी सेनाले सन् २०२६ जनवरीमा निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाको राजनीतिक तथा सुरक्षा नीतिमा परिवर्तन आएको छ । त्यसपछि डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको छ । यसै परिवर्तित राजनीतिक परिस्थितिसँग पछिल्लो सैन्य कारबाही जोडिएको हुन सक्ने समाचारमा उल्लेख छ ।

उता, कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले इएलएन तथा लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कारबाही अघि बढाइरहेको बताइएको छ । कोलम्बिया लागुऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रणका लागि अमेरिकाको नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रसँग सहभागी रहेको समाचारमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.