प्रतिपक्षी दलहरूले सरकारसँग तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन् ।
सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बैठक बसेको हो ।
न्यायाधीशविरुद्ध महाभियोगको चर्चा, बिचौलियासम्बन्धी आरोप र पत्रकार धरपकडबारे छलफल ।
प्रहरी नेतृत्वसम्बन्धी विवादमा पनि प्रतिपक्षी दलहरूको चासो ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भनिएको विषयमा छानबिन गर्न सरकारलाई चुनौती ।
काठमाडौँ, १६ कार्तिक । प्रतिपक्षी दलहरूले संसद् अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाका विपक्षी दलहरूको बैठकले संसद् अधिवेशन छिटो बोलाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेता आङ्देम्बेले न्यायाधीशविरुद्ध महाभियोगको चर्चादेखि सरकारसँग बिचौलियाको सम्बन्ध रहेको भनिएका विषय, पत्रकारमाथिको धरपकड तथा प्रहरी नेतृत्वसम्बन्धी विवादसम्मका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
प्रतिपक्षी दलहरूले संसद् अधिवेशन आह्वानका लागि सभामुखलाई भेटेरसमेत आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अन्य संसदीय गतिविधिका विषयमा पनि आफूहरूको चासो रहेको आङ्देम्बेको भनाइ थियो ।
त्यस्तै, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भन्ने विषयमा समेत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उहाँले सरकारलाई चुनौती दिनुभयो ।
