भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

झापाका रैथाने जङ्गली हात्तीको नामकरण

झापाका रैथाने जङ्गली हात्तीको नामकरण

झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिएका हुन् ।

‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताए ।

पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानव बस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ । मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्राविपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।

अन्य हात्तीहरुको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो । मुलादन्ते हात्तीको दाह्रा मुलाजस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ ।

विगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीको रुपमा लुइँटेलले जङ्गली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नुभएको कार्कीले बताए । कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यहीअनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको उनको भनाई छ । नेपालमा पाइने रैथाने हात्तीहरु एसियाली हात्तीको भारतीय उपप्रजातिअन्तर्गत पर्दछन् ।

“उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ”, हात्तीको नामकरण गरेका संरक्षणकर्मी शङ्कर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भने, “उहाँ हात्तीको आनीबानी र रुपसँग परिचित हुनुहुन्छ । उहाँलाई पनि हात्तीले चिन्छन् ।” रासस

 


Thali Mobile Pvt.Ltd.