धनगढी, २९ वैशाख भारतबाट स्वदेश फर्किँदै गरेका नेपालीहरूमाथि भारतीय सुरक्षाकर्मीले अवैध रूपमा पैसा असुली गर्ने गरेको गुनासो बढ्दो छ। सुदूरपश्चिम प्रदेशका प्रमुख नाका-कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी हुँदै फर्किने नेपालीहरूले सीमामा अपमानजनक व्यवहार र जबरजस्ती आर्थिक शोषण भोग्नुपरेको बताएका छन्।
भारतका विभिन्न राज्यमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेकजाँच, अपमानजनक सोधपुछ र असहज व्यवहारको शिकार भइरहेका छन्। गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापा भन्छन्, “नाकामा सुरक्षाकर्मीहरूले पहिले चेकजाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्। हामीजस्ता श्रमिकहरूबाट पैसा असुल्दा खाली हात घर फर्किनुपर्छ।”
उनीहरूका अनुसार आफ्नै देश फर्कनै गाह्रो बनाउने गरी भारतीय सुरक्षाकर्मीको व्यवहार असहज बन्दै गएको छ। “अपमान होइन, सम्मानका साथ घर फर्किन पाउनु हाम्रो हक हो,” एक पीडित नेपालीले भने।
हाल भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण दुवै देशका सुरक्षाकर्मीले सीमामा सुरक्षा कडाइ गरिरहेका छन्। तर, सोही कडाइको नाममा नेपालीहरूलाई लक्षित गरी आर्थिक शोषण भइरहेको गुनासो चर्किँदै गएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतसँग जोडिएका सुदूरपश्चिमका नाकाहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विशेषगरी नयाँ अनुहार वा शङ्कास्पद देखिएका व्यक्तिहरूमाथि थप निगरानी बढाइएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकार पनि सीमामा देखिएको असहज परिस्थितिको समीक्षा गर्दै सतर्क बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूसँग समन्वय गरी सिमानामा सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न निर्देशन दिएका छन्।
