भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा

कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा

एजेन्सी, २० साउन । अन्तर्राष्ट्रिय सहायता कोषमा आएको कमीका कारण अफगानिस्तानमा बाल कुपोषणको समस्या गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पर्याप्त आर्थिक सहयोग तत्काल उपलब्ध नभए लाखौँ बालबालिकाको जीवन थप जोखिममा पर्ने चेतावनी दिएको छ।

डब्लुएफपीका अनुसार अफगानिस्तानका ३४ मध्ये १२ प्रान्तमा बाल कुपोषण अत्यन्त गम्भीर अवस्थामा पुगेको छ। द्वन्द्व, बेरोजगारी, खाद्यान्नको बढ्दो मूल्य, रोगको प्रकोप, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव र अन्तर्राष्ट्रिय सहायता घट्नु यसको मुख्य कारण बनेका छन्।

डब्लुएफपीका अफगानिस्तान प्रमुख जोन एलिफले बालमृत्युदर बढ्न नदिन तत्काल थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै धेरै बालबालिकाका लागि सहयोग ढिलो भइसकेको बताएका छन्।

सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तानले राजनीतिक, आर्थिक र मानवीय संकटको सामना गरिरहेको छ। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार यस वर्ष देशका तीन चौथाइभन्दा बढी क्षेत्रमा बालबालिकामा तीव्र कुपोषण देखिएको छ।

डब्लुएफपीका अनुसार सन् २०२५ को सहायता बजेट कटौतीका कारण १४२ स्वास्थ्य केन्द्र बन्द भएका छन् भने १३ हजारभन्दा बढी बालबालिका पोषण उपचार सेवाबाट वञ्चित भएका छन्। संस्थाले यस वर्ष करिब ३७ लाख बालबालिका तथा १२ लाख गर्भवती र स्तनपान गराइरहेका महिला तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान गरेको छ।

मध्यपूर्वमा जारी द्वन्द्व र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण पोषण सामग्री ढुवानीमा समेत समस्या भएको डब्लुएफपीले जनाएको छ। पाकिस्तानसँगको सीमा लामो समय बन्द हुँदा झन्डै १० लाख महिला तथा बालबालिका पाँच महिनासम्म आवश्यक पोषण सेवाबाट वञ्चित भएका थिए।

डब्लुएफपीले जुलाईदेखि अक्टोबरसम्म कुपोषणको जोखिम सबैभन्दा उच्च रहने जनाएको छ। तर पर्याप्त बजेट अभावका कारण अगस्टदेखि अक्टोबरसम्म सञ्चालन हुने लक्षित खाद्यान्न वितरण कार्यक्रम स्थगित गर्नुपरेको छ। आगामी छ महिनाका लागि ५४ करोड अमेरिकी डलर तत्काल आवश्यक रहेको संस्थाले जनाएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानका लागि गरिएको २ अर्ब ७१ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिलमध्ये हालसम्म करिब २६ प्रतिशत रकम मात्रै प्राप्त भएको छ।

 


Thali Mobile Pvt.Ltd.