भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या

बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या

मुख्य बुँदा

बर्खामा निसेलढोरमा गाडी नचल्दा खाद्यान्न ढुवानी प्रभावित

बर्खामा तीन सय, हिउँदमा १५० घरपरिवार स्थायी बसोबास

आलु, स्याउ, सिमी उत्पादन भए पनि सडक दुरावस्थाले बजार पठाउन समस्या

चार किलोमिटर सडक स्तरोन्नतिसँग बाह्रै महिना यातायात सम्भव

गण्डकी प्रदेश सरकारले रु ७० लाख विनियोजन गरी सडक स्तरोन्नति गर्ने

बागलुङ, ६ भाद्र । जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट बस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ ।

अहिले बर्खामा तीन सय र हिउँदमा झन्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन् । आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्र पुग्ने गरेका छन् ।

बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने अवस्था रहेको स्थानीय सम्झना विकले बताइन् । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने उनको भनाइ छ ।

सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नुपरेको विकले गुनासो पोखिन् । गाडी नचल्दा बजारबाट सामान मान्छेले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

विकले भनिन्, “बर्खा किन लाग्दो हो भन्ने हुन्छ, न गाडी चल्छन्, न घोडा खच्चड नै हिँड्न पाउँछन्, बजारबाट सामान ल्याएर उपभोग गर्न साह्रै समस्या छ, हाम्रो समस्या सरकारले सुन्दै सुनेन, यस्तो विकट ठाउँमा छौँ, एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही सिकिस्त बिरामी भए डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ, यति सडक बने त सजिलो हुने थियो ।”

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय कुले विकले बताइन् । गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नुपर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्ने उनी बताउँछिन् ।

असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तु कुहिने जोखिम रहेको विकको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यस वर्ष मसखोलाबाट निसेलढोरसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि सर्भे गरिसकेको बताए ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखले सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन हुने उनको भनाइ छ । सडकले निसेलढोरवासीको दैनिकीमा परिवर्तन ल्याएको भन्दै अब बर्खामा पनि समस्या नहुने अध्यक्ष घर्तीमगर बताउँछन् ।

“निसेलढोर भौगोलिक रूपमा अलि पछाडि छ, तर पनि हामीले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, पहिले यहाँ सडक थिएन, पिउने पानी थिएन, अहिले पानीको पनि सुविधा छ, सडक बर्खामा अलिकति सञ्चालन हुन सकेको छैन”, अध्यक्ष घर्तीमगरले भने, “अब यसलाई व्यवस्थित गरेर बाह्रै महिना सञ्चालन गर्छौँ, त्यसपछि स्थानीयले यहाँको उत्पादनलाई सहज रूपमा बजार पठाउन सक्नेछन् भने यात्रा र ढुवानीका लागि सहज हुनेछ ।” रासस

 


Thali Mobile Pvt.Ltd.