भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित , उत्पादन घट्ने डर

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित , उत्पादन घट्ने डर

मुस्ताङ, ५ माघ २०८२ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा उल्लेखनीय हिमपात हुन सकेको छैन । गत कात्तिक महिनामा माथिल्लो मुस्ताङ क्षेत्र , वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ तथा मुस्ताङ–डोल्पा सडकअन्तर्गत साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक हिमपात भए पनि त्यसले किसानलाई खासै लाभ दिन सकेन ।

हिउँदयाममा पर्ने हिउँ किसानका लागि बरदान मानिन्छ । अनुकूल समयमा हिउँ परे अन्नबाली सप्रिने र उत्पादनमा वृद्धि हुने भए पनि यस वर्ष पुस महिना सकिँदासमेत हिमपात हुन सकेको छैन ।
सामान्यतया हिमाली क्षेत्रमा पुस र माघ महिनामा हिमपात हुने मान्यता रहे पनि पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण अनुकूल समयमा समेत हिउँ नपरेको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।

उनका अनुसार मुस्ताङका अधिकांश खेतीयोग्य जमिन र स्याउ बगैँचामा सिँचाइ सुविधा भए पनि माटोको उर्वराशक्ति बढाउन हिउँदयामको हिमपात अत्यावश्यक हुन्छ ।
हिउँ परेमा जमिनको भित्री तहसम्म चिस्यान पुग्ने र यसले स्याउ , उवा , फापर , जौ , मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि शाखा प्रमुख थकालीले जानकारी दिए । ‘हिउँदयामको अनुकूल समयमा हिउँ नपरे किसानले लगाएको स्याउ तथा अन्य अन्नबालीमा रोगकीराको संक्रमण बढ्ने सम्भावना हुन्छ’ , थकालीले भने , ‘हिउँ प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक विषादीको रूपमा काम गर्छ र यसले मलको कामसमेत गर्ने भएकाले कृषि उत्पादनमा ठूलो योगदान हुन्छ’ ।

हिमाली जिल्लामा बर्सेनी भदौ र असोज महिनामा स्याउको पोष्ट हार्भेस्ट गरिन्छ । स्याउ भित्र्याएपछि किसानले उवा , जौ , फापर लगायतका हिउँदे बाली लगाउने गर्छन् । पुस र माघ महिनामा अनिवार्य रूपमा हिमपात हुनुपर्ने प्राकृतिक चक्र भए पनि पछिल्लो तीन वर्षदेखि मुस्ताङमा राम्रोसँग हिउँ पर्न नसकेको घरपझोङका किसान अजित थकालीले बताए ।

हिउँ नपर्दा नदी र खोलाको पानी प्रयोग गरी सिँचाइ गर्नुपर्दा खेतीयोग्य जमिनमा रोगकीराको प्रकोप बढेको र यसले किसानलाई थप चिन्तित बनाएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.